हेटौंडा । मकवानपुर बकैया गाउँपालिका वडा नं. ४ जुरेलीका ३४ बर्षीय रामकृष्ण बजगाईंले जीवन रक्षाको लागि आर्थिक सहयोगको याचना गरेका छन ।

दुवै मिर्गौला फेल भएपछि काठमाडौंमा करिव डेढ बर्षदेखि डायलासिस गराउँदै आएका उनले चिकित्सकको सल्लाहमा मिर्गौला प्रत्यारोपणको तयारी गरेका थिए । मिर्गौला प्रत्यारोपणको अन्तिम चरणमा रहेका बजगाईंको मुटुको भल्वमा पनि समस्या देखिएपछि उनी थप चिन्तामा परेका छन् । मिर्गौला रोगी बजगाईंले जसोतसो डायलासिस गराउँदै मिर्गौला प्रत्यारोपणको अन्तिम चरणमा पुगेको अवस्थामा फेरि मुटुको भल्वमा प्वाल परेपछि उपचार गराउन आर्थिक समस्या भएको बताए ।

मुटुको भल्वमा प्वाल परेकाले त्यसको अप्रेशन गर्नका लागि ८ लाख भन्दा धेरै खर्च लाग्ने चिकित्सकहरुले बताएको उनले जानकारी दिए । करिव दुई महिनादेखि मुटुमा समस्या देखिएको उनको भनाई छ ।

बजगाईं पत्नी राधिका संजेलले मिर्गौला प्रत्यारोपणका लागि श्रीमानलाई मिर्गौला दिन लगभग सबै चरण पुरा भएको थियो । राधिका र रामकृष्णको सम्पूर्ण स्वास्थ्य परीक्षण भईसकेको तथा एक साताभित्र मिर्गौला प्रत्यारोपणको तयारीमा चिकित्सकहरु रहेपनि मुटुको भल्वमा समस्या देखिएपछि खर्चको अभावमा बजगाईं निराश भएका छन ।

मिर्गौला प्रत्यारोपण गर्न करिव १५ देखि २० लाख लाग्ने भएपछि बजगाईं जीवन र मरणको दोसाधमा युद्ध गरिरहेका छन । उनले उपचारकै क्रममा यसअघि २० लाख खर्च भईसकेको बताए । दुवै मिर्गौला फेल भएपछि डेढ बर्षदेखि बजगाईं अस्पताल धाईरहेका थिए । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने भएकाले उनी काठमाडौंमै बसेर उपचार गराईरहेका थिए ।

२०७६ साल माघमा स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउने क्रममा बजगाईको दुबै मिर्गाैलामा समस्या भएको चिकित्सकले जानकारी दिएका थिए । डेढ बर्षदेखि उनी उपचारका लागि पाटन, कान्तिपुर, टिचिङमा धाइरहेका छन । हाल उनको काठमाडौं स्थित सुमेरु अस्पतालमा उपचार भईरहेको छ । बजगाईंले हप्तामा २ पटक डायलासिस गर्नका लागि आइतवार र बुधवार अस्पताल जाने गरेका छन् । प्रत्येक हप्ता डायलासिस गर्नका लागि ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए । डायलासिस गर्न जानकै लागि हाल उनी काठमाडौंमा डेरा लिएर उपचार गराईरहेका छन् ।

बजगार्इं करिव ७ बर्ष बैदेशिक रोजगारमा गएर नेपाल फर्किएका थिए । उनले बहराइनमा ३ बर्ष र कुवेतमा ४ बर्ष होटलमा काम गरेर केही रकम आर्जन गरेका थिए । उनले वैदेशिक रोजगारमा गएर आर्जन गरेको करिव १४ लाख मिर्गौलाको उपचारमै खर्च भईसकेको जानकारी दिए ।

जायजेथा र सम्पत्ति उपचारमै सकिएपछि उनले बकैया गाउँपालिका, प्रस्तावित बकैया जेसीज, बकैयाका अन्य सामाजिक संघ संस्था तथा मकवानपुर जिल्लाका नाम चलेका नेताहरु संग पनि जीवन रक्षा गरिदिन आग्रह गरेका छन । आर्थिक अवस्था कमजोर रहेको कारणले मुटुको भल्वको उपचार गर्न तथा मृर्गौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि बजगाईंले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेका थिए ।

बजगाईं यो समाजको प्रतिनिधि पात्र मात्रै हुन । उनी जस्तै हजारौं नेपाली मिर्गौला फेल हुँदा त्यसको उपचार र प्रत्यारोपणमा लाग्ने खर्च जुटाउन नसक्दा मृत्युको पर्खाइमा रहनुपर्ने प्रत्येक नेपालीको बाध्यता बनेको छ अहिले ।