हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ८१ करोड २७ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आज शुक्रबार गाउँसभाको ८ औँ अधिवेशनअन्तर्गत दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले बजेट प्रस्तुत गरेका हुन ।

गाउँपालिकाले आफ्ना मातहतका सबै राष्ट्रसेवक कर्माचारीको १५ प्रतिशत तलब बृद्धि गरेको छ । यस्तै वडागत तथा कार्यपालिका सदस्यहरुका लागि ९ करोड ९० लाख बजेट छुट्याइएको छ ।


यसैगरी जग्गा नापको लागि १ करोड ७० लाख रकम बिनियोजन गरिएको छ । यस्तै कृषि क्षेत्रका लागि १ करोड ३० लाख, शिक्षा र पशुका लागि ३÷३ करोड, स्वास्थ्य क्षेत्रका लागि १ करोड २५ लाख रकम बिनियोजन गरिएको छ ।

बकैयाले १० असारमा नीति तथा कार्यक्रम ल्याएको थियो । बकैयाले भौतिक पूर्वाधार विकाससँगै भूमिहीन नागरिकलाई भूमि र लालपूर्जा दिनेदेखि कृषि तथा पशुपालन, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिकामा करिब ६० प्रतिशत घरधुरीसँग आफ्नो जग्गा प्रमाण पुर्जा प्राप्त नभएको, नापनक्सा समेत नभएको, ऐलानी जग्गा भएको र त्यस्ता जग्गाको तथ्यांक संकलनसमेत भइसकेकोले लालपूर्जा दिन बजेटमार्फत कार्य अगाडि बढाइएको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए ।