हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ५ नम्बर वडा अध्यक्ष लक्ष्मी जिम्वाले जनप्रतिनिधि भए वापत आफूले प्राप्त गर्ने सेवा सुविधाको रकम २० घर विपन्न परिवारको स्वास्थ्य बीमामा खर्च गरेकी छिन् ।

चुनावी अभियानको क्रममै वडा अध्यक्ष जितेमा कुनैपनि सेवा सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गरेकी उनले वडाभित्रका २० परिवारको स्वास्थ्य बिमा गरेर आफ्नो अभियानको सुरुवात गरेकी हुन् । वडा भित्रका अपाङ्ग, एकल महिला तथा विपन्न गरी पहिलो चरणमा २० घर परिवारको स्वास्थ्य बिमा गराएकी हुन् ।

चुनावको समयमा वडाबासीसंग गरेको प्रतिबद्धतालाई आत्मसाथ गरेको वडा अध्यक्ष जिम्बाको प्रतिक्रिया छ । ‘चुनाव अघि जनतासामु प्रतिबद्धता जनाउँदै वडा अध्यक्ष भएपछि आउने तलव भत्ता लगायतको कुनैपनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेको थिएँ, ‘जिम्बाले भनिन्, ‘सोही बिषयलाई कार्यान्वयन गर्दै यस अवधिमा मैले पाउने सेवा सुविधाको रकम र व्यक्तिगत केही रकम थपेर वडाका २० घर परिवारको स्वास्थ्य बीमा गराएको हुँ ।’

उनले निर्वाचनको समयमौ आफूले पाउने सेवा सुविधा एकल र विपन्न महिला तथा विपन्न परिवारको विद्यार्थीको शिक्षामा खर्च गर्ने उद्घोष गरेकी थिइन् । करिब ७० हजार रुपैयाँ बराबरको लगानीमा स्वास्थ्य बीमा गरिदिएको वडा अध्यक्ष जिम्बाले बताइन् । यस अभियानले ५ बर्षसम्म निरन्तरता पाउँदै जाने उनले जानकारी दिइन् ।

कार्यक्रममा वडा सचिव पुजन न्यौपाने, वडा सदस्यहरु ज्ञानीमाया विश्वकर्मा, सोम बहादुर माझी, अमृत थिङ, राजदमार आधारभुत स्वास्थ्य केन्द्रका इन्चार्ज सम्झना राना मगर, नेपाली कांग्रेस बकैया सचिव सुनिल दर्लामी, बिमाकर्ता एवम कर्मप्राप्ति मा.विका शिक्षक मदन दाहाल लगायतकाको सहभागिता रहेको देवराज लामिछानेले जानकारी दिए ।