हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयोजानमा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रबद्र्धन बिषय अन्तरक्रिया भएको छ ।

गाउँपालिका र मातहतका कार्यालयहरुका जनप्रतिनिधि र कर्मचारीहरु सहितलाई राखेर भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम भएको हो । बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडा कार्यालय प्रमुख नरहरि घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय, हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनिकरण एवम् सुशासन प्रवद्र्धनका सन्दर्भमा भएका प्रगति बारे जानकारी गराएका थिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उपसचिव विष्णु प्रसाद सापकोटाले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री, बकैया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष विष्णु नेगी, नवनिर्वाचित जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकास्थित माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु, बकैया गाउँपालिकामा अवस्थित संघीय प्रादेशिक तथा स्थानीय तहका कार्यालयका कार्यालय प्रमुखहरु, बकैया गाउँपालिकाका शाखा प्रमुख स्तरका कर्मचारीहरु, स्थानीय गैरसरकारी संघ र संस्था, नागरिक समाजका प्रतिनिधिहरु, बकैया गाउँपालिकामा रहेका स्थायी प्रकृतिका विभिन्न उपभोक्ता समितिहरुका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागितामा रहेको थियो ।