हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–४ बाघमारास्थित ल्वाजोर खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ स्थायी घर भएका १६ वर्षीय सचिन थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आफन्त विष्णुबहादुर खत्रीको घरमा आएका उनी आज दिउँसो नुहाउन नजिकैको ल्वाजोर खोलामा गएका थिए ।

नुहाउने क्रममा पानीमा डुबेर घाइते भएका थापालाई हात्तिसुँडे प्रहरी चौकीबाट खटिएको टोलीले उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन लगेको थियो ।

घाइतेको स्वास्थ्य अवस्था गम्भीर भएका कारण थप उपचार गर्न हेटौंडा–११ थानाभर्याङस्थित चुरेहिल अस्पताल ल्याइएको थियो।

चुरेहिल अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।