हेटौंडा । घरदेखि विद्याल करिव ३ घण्टाको दुरीमा हुँदा मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ ठिंगन रातोमाटेका श्रीजल थिङ (नेसुर) को अध्ययन गर्ने सपना अधुरै रह्यो । अध्ययन गर्ने चाहना हुँदा हुँदै पनि उनले वीचमै पढाई छाड्न बाध्य भए । बकैयाको ठिंगनमा रहेको कान्ति मावि विद्यालय पुग्न ३ घण्टा पैदल हिडेर जानुपर्ने बाध्यता भएपछि उनको पढ्ने चाहानामा पूर्णविराम लागेको हो ।

धेरै पढेर ज्ञानी र सामाजिक योगदान गर्ने इच्छा थियो, थिङले भने विद्यालय टाढा हुँदा विहान बेलुका जान आउनै समस्या भयो, अनि विद्यालय जान छाडे । पढाई छोडेपछि घरमै आमा बाबुलाई काममा सघाउन थालेका थिङलाई दिदिको विहेपछि जिम्मेवारी थपियो । आठ जनाको परिवारमा दिदि हुँदा दिदिले घरको काममा सहयोग गर्थिन, उनले भने दिदिको विहेपछि मैले आमा बाबुलाई सघाउन थाले । आमाबुवालाई मात्रै दुःख भयो, पढ्ने समय पनि मिलेन, विद्यालय जान आउँन पनि धेरै टाढा भयो अनि पढाई पनि छाडेर अलि–अलि काम गर्न थाले ।

सानैदेखि गाउँमा डोजर स्काभेटर देखेका थिङलाई अध्ययन संगै स्काभेटर चलाउन पनि रहर जाग्यो । घरको आर्थिक अवस्था कमजोर भएपछि उनी सानै उमेरदेखि आर्थिक जोहो गर्न थाले । उनी डोजर स्काभेटर सिक्न गए । गाउँकै राजकुमार दाई संगै ३ बर्ष जति स्काभेटर हेल्पर भएर उनले काम गरे ।

काम गर्ने अठोट, लक्ष्य र आटका साथ लागे सफल भइन्छ भन्ने एक पात्र भने उनी । १४ बर्षदेखि १८ बर्ष सम्म हेल्परका रुपमा काम गरेका थिङ अहिले स्काभेटर चालक हुन् । उमेरले २० बर्ष पुरा गरेका उनी अहिले मासिक रुपमा ७० हजार रुपियाँ सम्म कमाउँछन । उनी आफ्नो कामदेखि पूर्ण सन्तुष्ट भएपनि आफ्ना साथीहरु अध्ययन गरिरहदा आफ्नो पढ्ने इच्छा अधुरै रहेकोप्रति मन खिन्न भएको बताउँछन् । दुःख नगरि सुःख पाईदैन, पढ्न नपाएपनि कामलाई नै आफ्नो जिवनको लक्ष्य बनाएको उनले सुनाए ।

यस क्षेत्रका उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै तामाङ समुदायको वाहुल्यता रहेको यस क्षेत्रमा घर भन्दा विद्यालय नजिक र पायक ठाउँमा नहुँदा वीचमै पढाइ छाड्न धेरै बाध्य छन् । नजिक भनिएको मावि पुग्न तीन घण्टा लाग्ने भएपछि उनीहरु आधारभूत तहबाटै विद्यालय छाड्न बाध्य भएका छन् । बिद्यालय टाढा र आर्थिक अवस्था पनि कमजोर भएका कारण यहाँका बालबालिकाले वीचमै विद्यालय छाड्ने गरेका छन् ।

मकवानपुरको पुरानो बिद्यालय मध्य कान्ति मावि पनि एक हो । २०१८ सालमा स्थापना भएको यस बिद्यालयमा हाल २ सय ४९ जना बिद्यार्थी अध्ययनरत रहेका छन । यस बिद्यालयमा करिव साढे तीन घण्टा हिडेर बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन । बकैया ११ वाइवा लोसे, आँपचौर, कुन्चेपोकल, सिमात, बकैया १२ माटोमाटे, चारघरे, ठिंगन डाडा, धेत्रे, धरमपानी, कोलखोप, गमल्टार, सिमट्वाँक, भीमफेदी ८ गंगटे, भर्याङडाडाका बिद्यार्थीहरु यस बिद्यालयमा अध्ययन गर्ने गरेका छन ।

तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा घले, बाहुन, क्षेत्री तथा दलित समुदायका विद्यार्थीहरु अध्ययन गर्ने गरेका कान्ति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा रुपेन घलेले जानकारी दिए । पारिवारीक समस्या, आर्थिक समस्या, विहान बेलुका हिड्न समस्या, विद्यालय जान साथी नहुने कारणले बिद्यार्थीहरुले बिचमै पढाई छाड्ने गरेका हुन् । तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा सानै उमेरदेखि कमाएर ल्याउनुपर्ने बाध्यता पनि विद्यालय विचमै छाड्नु पर्ने अर्को कारण हो ।