हेटौंडा । सडक छेउमा रोकिराखेको टेलर ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन् । मकवानपुरको पुर्वपश्चिम सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका–९ ज्यामिरेमा बा.प्र ०३–००१ ख १०९२ नम्बरको टेलर ट्रक बिग्रि सडक छेउमा रोकिराखिएको थियो ।

उक्त ट्रकमा चितवनबाट हेटौंडातर्फ जादै गरेको ना.६४ प ७५७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर टेलरको पछाडी ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी मोटरसाइकल चालक २५ वर्षीय युवकको नामथर वतन खुलेको छैन । उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।