काठमाडौं । सत्तागठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा केही लचिलो देखिएपछि एमसीसी संसद्मा टेबुल हुने ढोका खुलेको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूका अडान भने यथावत् छन् । जसका कारण संसद्बाट एमसीसी तत्काल अनुमोदन हुने–नहुने अनिश्चितता भने कायमै छ ।

यही विषयमा छलफल गर्न आइतबार बिहान १० बजे सत्तागठबन्धनको बैठक बस्दै छ । त्यहाँ औपचारिक सहमति बने सम्भवतः आइतबारकै संसद् बैठकमा एमसिसी टेबुल हुनेछ ।५० करोड अनुदान सहयोगको एमसीसी सम्झौता १६ फागुनभित्र संसद्बाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेको छ । ३० असार ०७६ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारले एमसिसी अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेको थियो । तर, सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन ।

एमसीसीकै विषयमा उत्पन्न विवादका कारण गठबन्धन नै तोडिन सक्नेसम्मका दाउपेच र दबाबकाबीच सार्वभौम संसदबाट यसलाई निष्कर्षमा पुर्‍याउने गरी पछिल्लो सहमति बनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार विपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेर गठबन्धनमा रहेका दलहरूमाथि एमसीसी अगाडि बढाउन दबाब बनाएका थिए । माओवादीले गठबन्धनमा सहमति नभई जबर्जस्ती एमसीसी अगाडि बढाए सरकारबाट बाहिरने निर्णय गर्दै कार्यकर्तालाई सडक संघर्षमा पठाएको थियो ।

एमसीसी संसद् प्रवेश गराउन गठवन्धनमा रहेका दलहरूले आन्तरिक बैठकमार्फत लचिलो निर्णय गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसद्मा टेबुल गरेर सघन छलफल चलाउने निर्णयमा पुगेका छन् । सत्तागठबन्धन बचाउनै पर्ने बाध्यतामा पुगेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि टेबुलका लागि सकारात्मक भएका छन् ।

 नयाँ पत्रिका