स्थानीय चुनावलाई लिएर एमाले बृत्तमा अन्तरघात, आत्मसमिक्षा, विधि विधानको विषयलाई लिएर बहस चुलिएको छ । नेतृत्वपंक्तिका अनुसार एमालेलाई कार्यकर्ताहरुबाट डरलाग्दो अन्तरघात भएको छ । काँग्रेसको अन्तरघात एमालेमा भित्रियो भनिरहेका छन् र ती अन्तरघातीहरुलाई पहिचान गरी कार्वाही गर्ने मनसाय प्रस्तुत गरिहेका छन् । अर्काे तर्फ एमालेको केन्द्रीय नेतृत्व र कार्यकर्ताहरुको विचमा विचौलिया हाबी भएको, स्थानीय नेताहरुको स्वार्थ पुरागर्न आम कार्यकर्ताको भावना र विचार केन्द्रीय तहसम्म नपुगेको, स्थानीय नेताहरुले कार्यकर्ताहरुलाई दासको रुपमा व्यवहार गरेको, विधान अनुसार पार्टी संचालन गर्न नचाहेको, पार्टीको नेतृत्व चयन गर्दा होस या उमेदवार चयन गर्दाको अवस्था होस् कार्यकर्ताको भावना र जन चाहना बमोजिम विधान अनुसार लोकतान्त्रिक विधिबाट निर्णय नगरेको जस्ता आरोप लगाई रहेका छन् । नेतृत्वको गलत निर्णयका कारण चुनावमा डरलाग्दो हार भएको हो भन्ने कुरा स्वीकार गर्न नेतृत्व तयार देखिदैन ।

एमालेको नेतृत्व तहबाट हेर्दा एमालेलाई अरु पार्टीको भन्दा बढी लोकप्रिय मत (लगभग ४७ लाख) प्राप्त भएको छ । त्यसको आधारमा एमाले पहिलो पार्टी हो भनिरहेका छन् र यो नेतृत्वको सहि निर्णयले गर्दा भएको हो भनिरहेका छन् । तर जितेका प्रमुख पदहरुमा काँग्रेसको भन्दा १२४ को हाराहारी संख्यामा एमाले तल झरेर दोश्रो स्थानमा रहेको छ । यो एमालेको दयनीय अवस्था हो र यसले आउँदो संघीय तथा प्रदेशको चुनावमा पनि प्रभाव पार्ने देखिन्छ । यो दयनीय अवस्थाको दोष भने एमालेले कार्यकर्ताहरुलाई अन्तरघात गरेको भनेर दोष लगाईरहेका छन् । यो पनि भन्दैछन् कि मत पत्रमा ६ वटा छाप सुर्यमा एउटा रुखमा त्यसैगरी अर्काे ६ वटा छाप सूर्यमा एउटा छाप हलोमा । यहाँनीर अन्तरघात भयो भन्दैछन् । यसो भनेर मतको गोपनियता भंग गर्नु हुन्छ कि हुँदैन अर्काे पाटो हो । तर यो एकतर्फी सोचाई हो । अर्काे तरीकाले सोच्ने हो भने संधै रुखमा वा हलोमा भोट हाल्ने मतदाताहरुले यस पटक राम्रा उमेदवार परेका हुनाले ६ वटा सूर्यमा मत हालेछन् भनेर बुझ्न सकिदैन ? त्यसैगरी एमालेको बढीमा १५ लाख संगठित सदस्यहरु रहेछन् भने पनि ४७ लाखको हाराहारीमा मत त पाएकै छन् नि कसरी कार्यकर्ताहरुले अन्तरघात गर्यो ? अन्तरघात हुनलाई त १५ लाख भन्दा कम मत आउनु पर्ने होइन र ? यहाँनिर नेतृत्वको सोचाई र दृष्टि चुकेको देखिन्छ ।

केही स्थानहरुमा एकाध संख्यामा अन्तरघात नै भएका होलान् तर कारण देशब्यापी रुपमा यसको असर यसरी देखा पर्दैन । उदाहरणको लागि अत्यधिक मतान्तर भएको काठमाडौं महानरपालिकामा एमालेको संगठित सदस्य संख्या कति हो ? संगठित सदस्यहरुको भन्दा बढी (३६ हजार) भोट त पक्कै एमालेलाई (केशव स्थापित) लाई आएकै छ त त्यहाँ पनि अन्तरघात भयो भनेर नेतृत्वले कसरी भन्न सकेको हो ? एमालेलाई हिजो भोट दिने मतदाताहरु सबै एमाले हुन् र ? उनीहरुले मतदात परिवर्तन गर्न पाउदैनन् ? पार्टीको आफ्नो संगठित सदस्य बाहेक त सबै मतदाताहरु स्वतन्त्र हुन्छन् । उनीहरुले जुन पार्टीले देश र जनताको लागि राम्रो काम गर्छ उसैलाई उपयुक्त समयमा मतदान गर्छन् नै । दलीय व्यवस्था भएको देशमा स्वतन्त्र उमेदवारलाई किन र कसरी भोट गयो ? यदि ती मतदाताहरु पार्टीको संगठित सदस्य हुन् भने उनीहरुले अन्तै भोट हाल्दैछन् भनेर किन थाहा पाएनन् एमालेले ? आफ्नो गल्ती कमीकमजोरी लुकाउन आम मतदातालाई दोष थुपार्नु किमार्थ स्वीकार्य हुन सक्दैन ।

मलाई लाग्दैन कि ३०/३५ वर्ष पार्टीको संगठित सदस्य भएर कार्य गरेका व्यक्तिहरुले कुनै नेताको व्यक्तिगत कारणले अन्तै भोट हाल्छन् भनेर । पार्टी त राम्रो छ । विचार र सिद्धान्तमा खोट लगाउने ठाउँ नै छैन । आम नागरिकले राम्रो भनेका छन्, कार्यकर्ताहरु यसमा लागेका छन्, यसको विधान अन्य पार्टीको तुलनामा उत्कृष्ट छ । तर विग्रियो कहाँ किन र कसरी भन्ने मुख्य विषय हो । आम मतदाताहरु परिणाम प्रति चिन्तित देखिन्छन् भने नेतृत्वहरु भने यो सब मतदाताहरुको दोष हो भनि रहेका छन् । मेरै क्षेत्र हेटौंडाको १० नं. वडालाई हेरौ त यहाँका मतदाताहरुले आफ्नो भोट (९७२) सहित वडा अध्यक्ष सहित सबै सदस्यलाई विजय गराएर पठाएकै छन् त । काँग्रेसले आफ्नो मत पाएकै छ । समाजवादी र माओवादीले जोडेर माओवादीलाई दिएकै छन्, राप्रपाले आफ्नो भोट पाएकै छन् । अनि मेयरलाई किन कम भोट आयो भनेर उफ्रियर हुन्छ ? अरुको भन्दा बढी मत ल्याउनलाई उमेदवार पनि उपयुक्त छान्नु पर्दैन ? लोकप्रिय मत ल्याउनलाई उमेदवार पनि लोकप्रिय हुनु पर्ने कि नपर्ने ? सांसद भईसकेको व्यक्तिलाई मेयरमा किन टिकट दिएको ? अरु नेता थिएनन् हेटौंडामा ? विधि पद्धति अनुसार उमेदवार चयन भएको भए यस्तो हविगत हुन्थ्यो ? अनि १० नं. मा नै किन कुदृष्टी ? यो त एउटा उदाहरण मात्र हो । यो प्रबृतिले पार्टीको भविश्य अन्धकार देखिन्छ ।

एमालेको संगठन भित्र व्यक्ति हावी छ । कार्यकर्ताहरु पनि वान म्यान वान आर्मीको विचार बोकेर हिडेका छन् । त्यो सरासर गलत हो । पार्टीमा म होइन हामी हुनु पर्छ, मेरो होइन हाम्रो भन्ने भावना हुनुपर्छ । पहिले एमाले पार्टीमा यो सोच आम नेता कार्यकर्ताहरुको मन मस्तिष्कमा रहेको थियो । र पार्टी बलियो अनि एकढिक्का रह्यो । आज यो भावना टुटेको छ, म भन्ने अहमपन जागेको छ । कार्यकर्तालाई दास सम्झेका छन् भने जनतालाई नोकर सम्झेका छन् । कहिले पार्टीको निर्णय मान्नै पर्छ भनेका छन् त कहिले पार्टी भनेको चलिरहेको रेल हो यसमा चढ्ने र ओर्लने यात्रुहरुको हिसाब किताब राख्न आवश्यक छैन भनेका छन् त कहिले एकाध मानिस भाँडिएर पार्टीलाई फरक पर्दैन भन्ने अभिव्यक्ति दिएका छन् । यहि हो नेताहरुको व्यवहार ? अनि फेरी रोइलो किन ? दशकौ वर्ष पार्टीमा समय विताएका इमान्दार कार्यकर्ताहरुको चित्त दुखाएका छन् । गल्ली गल्ली सडकबाट नयाँ पार्टी सदस्य भन्दै लाखौ मानिस अबैधानिक रुपमा सदस्यता दिएका छन् । विधानमा सदस्यता दिने प्रकृया त प्रष्ट छ त किन प्रकृया मान्दैनन् ? हो यसरी बनाएका सदस्यहरु मध्ये जो प्रलोभनका लागि आएका छन् त्यस्ता पार्टी सदस्यहरुले भने पक्कै अन्तरघात गरेका हुन सक्छन् । किन कि उनीहरु भरखर आएका हुन् । दुई चार लिटर इन्धनको लोभमा आएकाहरु जसरी आए त्यसरी नै जाने हो । प्रलोभनमा आएकाहरु अर्काे प्रलोभन पाउने वित्तिकै अन्तै गईहाल्छन् । सायद त्यस्ता सदस्यहरु अहिले जितेका पार्टीका नेताहरुको पछि लागेका होलान् र पार्टीमा ती सदस्यहरु भेट्न सकिदैन । यसको मनन् पार्टीले पक्कै गरेको हुनु पर्छ भन्ने लाग्छ ।

आज धनगढी, काठमाडौं, जनकपुर, धरान जस्ता मुख्य शहरहरुमा किन स्वतन्त्र उमेदवारहरु विजय भए ? ती ठाउँहरुमा पनि एमालेका उमेदवारले आफ्नो संगठित सदस्यको भन्दा बढी मत त पाएकै छन् । बांकी रह्यो जित्नको लागि आम स्वतन्त्र नागरिकको मत चाहियो । त्यो पाउनको लागि काम पनि राम्रो गरेको हुनु पर्यो । राजनीतिमा व्यक्तिका हरेक कृयाकलापहरु रेकर्ड भएका हुन्छन् । उनीहरुको व्यवहार, चरित्र, काम गर्ने शैली, आचरण अनि प्रबृति सबै मानिसले हेरिरहेका हुन्छन् । के यो सबै कुराहरु विचार गरेर उमेदवार बनाउने कार्य एमालेले गर्यो त ? पक्कै गरेनन् । दुधले नुहाउँदैमा, अरुलाई दोष दिँदैमा आफु शुद्ध होइदैन । आफु सुद्ध हुनका लागि आफ्नो मन आफैले पखाल्नु पर्छ । आफ्नो कमीकमजोरीहरु आफैले भन्नु पर्छ । मानिस मानिस भएकै कारणले कमजोरीहरु गर्छन् त्यसलाई स्वीकार गर्नु र सुधार्नु उसको महानता हो । पार्टीको जीवन यसरी नै चलेका हुन्छन् ।

श्यामकल श्रेष्ठ
थप जानकारी