दाङ, बङ्गलाचुली गाउँपालिका–२ खाराकी ३१ वर्षीया कुमारी नेपालीलाइ आज निन्द्रापरेन। दुई छोरा र एउटी छोरीले बेलुकाको खाना खाएर एकछिन स्कूलको होमवर्क गरे र अहिले मस्तनिन्द्रामा छन्। यहाँ गुजारा चल्नैनसक्ने भएपछि आफ्नो श्रीमान साउदीअरबमा गएको, अहिले उतै छन्। निन्द्रा नपरेकोले विगत सम्झन थालेकी हुन् वा विगतको सम्झनाले निन्द्रा पर्न नदिएको हो ? जे भएपनि विगतकै सम्झनामा डुबुल्कि लगाइरहिन्। कुमारीले सम्झिइन्, युद्ध लड्दाका सहकर्मीहरूलाई । आफूजस्तै पीडा भोगेकाहरूलाई । उनीहरूसँगको भेट र त्यसक्रममा भएका

संवादहरूलाई पनि याद गरिन्–
कुमारी नेपालीले सम्झिन् – “माओवादी नेताहरू, जो अहिले ऐश्वर्यभोगमा चुर्लुम्म डुबेका छन्, तिनैले हिजो हामीलाइ मीठा सपना देखाए र आदर्श छाँटे। हाम्रो ब्रेन-वाश गर्न सफल भए। होला भनेर पत्याएर म माओवादी बनें। माओवादी लडाकु बनें। कपिलवस्तुमा भएको भिडन्तमा गोली लाग्दा मेरो बायाँ आँखा गुम्यो। नीमबहादुर नेपालीजी पनि त्यसैगरी यी धोकेवाज नेताहरूका कुराबाट प्रभावित भएर माओवादी बन्नुभएको रहेछ। उहाँपनि लडाकु नै हुनुहुन्थ्यो। उहाँका आनिबानि, आचरण, चरित्र र ब्यवहार ठीकलाग्यो। हामीले बिवाह गर्यौं।”

“२०६३ सालपछि बल्ल हाम्रो आँखाखुल्यो। हामीले छ्याङ्गै देख्यौं। यी धूर्त नेताहरूले भ्रम र भ्रान्तिमा पारेर हामीलाइ प्रयोग गरेका रहेछन्। २०६३ पछि यिनीहरू ऐश्वर्यभोगमा लिप्त हुनथाले र हामीलाइ बिर्से। यी धोकेवाज नेताहरूले ‘जनयुद्ध’ भन्थे। केको जनयुद्ध हुन्थ्यो ? आफ्नो स्वार्थका लागि चलाएको हिंसात्मक गतिविधि रहेछ। माओवादीमा लागेर एउटा आँखा गयो। शरीरमा जताततै छर्रा छन्। शरीरले राम्रो काम गर्दैन। दर्दनाक अवस्था छ।”

“माओवादीका धूर्त नेताहरूले हामीलाइ मात्र धोकादिएको हैनरहेछ। तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानका भूमिलाल चौधरी पनि युद्धमा होमिएका थिए। पछि सेक्शन कमान्डर भए। अहिले ३६ वर्षका भएछन्। लडाइँका क्रममा सिरहाको बन्दीपुर र म्याग्दीको बेनीमा गोली लागेर घाइते भएका थिए। उनको बायाँ हात चल्दैन। उनलाइ भेट्न गएको थिएँ श्रीमती, एक छोरा र छोरी रहेछन्। उनको पनि बिजोग नै रहेछ। ‘कतै काम पाइन्छ कि भन्यो, एउटा हात नचल्नेले कसरी काम गर्छ र ? भनेर काम नै दिँदैनन्’ उनले भने। ‘कमाइ नभएपछि घरमा सबैले हेलाँ गर्छन्। परिवार कसरी पाल्नु ? अन्य व्यवहार कसरी चलाउनु ?’ भूमिलाल चौधरीले भने। मैलेजस्तै चौधरीले पनि माओवादी नेताहरूले हामीलाइ प्रयोग गरेर हाम्रो जीवन बर्बादपारेको महसूस गरेका रहेछन्।”

“घोराही उपमहानगरपालिका–१७ गैरागाउँका केशव चौधरीलाइ भेट्न गएँ। उनी अहिले ३७ बर्षका भएछन्। उनीपनि कथित युद्धका ठूलठूला लडाईंमा अग्रमोर्चामै थिए। २०५९ जेठ १३ मा भएको रुकुमको खारास्थित सैनिक व्यारेक आक्रमणमा पनि उनी अग्रमोर्चामै थिए । त्यहीं गोली लाग्दा ब्रिगेड कमान्डर रहेका चौधरीको बायाँ आँखा गुम्यो । शरीरभरी अहिले पनि बमका छर्रा छन्। उनलाई जीवनभर औषधि खाइरहनुपर्ने भएको छ। अहिले उनलाई ज्यान पाल्नु कि औषधि खानु भन्ने चिन्ता छ। ‘मर्नु न बाँच्नु भएको छु। खाना खानै समस्या छ; औषधि कहाँबाट खाने भन्ने चिन्ता छ’ उनले भने। ‘यी धूर्त नेताहरूले, मात्र आफ्नो स्वार्थका लागि प्रयोग गरेर हामी अहिले अधमरो अवस्थामा छौं, देश झन्-झन् बर्बाद भैरहेको छ, तर यी धूर्त नेताहरूचाहीं ऐश्वर्यभोगमा चुर्लुम्म छन्।’ उनले आक्रोश पोखे। उनकी श्रीमती लक्ष्मी चौधरीको पनि पूरै समय उनको र छोराको स्याहारमा बित्नेरहेछ। दुइटा सन्तानमध्ये एउटा छोरो पनि अपाङ्ग रहेछ। ‘श्रीमान् र छोरालाई एकछिन पनि छोड्न मिल्दैन, रोईरोई बस्नुपरेको छ’ लक्ष्मीले भनिन्। श्रीमान् र छोराको स्याहार गरिरहनुपर्ने भएकोले उनले अन्य काम गर्न पाएकी छैनन् । ‘कमाइ हुने कुनै काम गर्न पाइँदैन कसरी बाँच्ने भन्ने चिन्ताले सताइरहन्छ।’ लक्ष्मीले पीडा पोखिन्। धूर्त नेताहरूले भ्रम र भ्रान्तिमा पारेर प्रयोग गरिएका केशव चौधरीहरूको यो हालत छ।”

“लमही नगरपालिका–७ नयाँबस्तीका सुन्दर चौधरी पनि कथित माओवादी युद्धमा होमिएका थिए। उनलाइ भेट्न गएँ। उनी अहिले ३६ बर्षका भएछन्। दाङको सतबरियास्थित सशस्त्र प्रहरी क्याम्पमा आक्रमण गर्ने क्रममा घाइते भएका थिए। चिउँडोबाट पसेको गोली नाक हुँदै टाउकोबाट निस्केको थियो। ‘भाग्यले ज्यान त बच्यो तर बाँचेजस्तो भएको छैन। यी धूर्त नेताहरूले यतिसम्म धोका देलान् भनेर सोचेका थिएनौं। त्यसबेला लुटेको धनले उनीहरू सुविधासम्पन्न छन्। उनीहरूको लागि भोगबिलाश र मोजमस्ति छ। तर, हामीलाई बाँच्नै सास्ती भएको छ।’ सुन्दर चौधरीले आक्रोश पोखे।”

“एकदिन फेरि खुशीराम चौधरीलाइ भेट्न गएँ। उनी घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरीमा बस्छन्। ४६ बर्षका भएछन्। खुसीराम चौधरी २०६१ चैत २५ मा रुकुमको खारामा भएको सैनिक ब्यारेक आक्रमणमा घाइते भएका थिए । टाउको, छाती र घाँटीमा गोली लाग्यो । उनको दायाँ हात र खुट्टा चल्दैन । ‘केही काम गर्न सकिँदैन । जीवनभर औषधि खानुपर्ने भएको छ’ उनले भने। ‘कमाइ नभएपछि न औषधि गर्न सकिन्छ, न ज्यान पाल्न। माओवादी धूर्त नेताहरूले हामीलाई यो हालतमा छाडे, राष्ट्रलाइ बर्बाद गरे र आफ्नो जीवन मात्र बनाए।’ खुशीराम चौधरीले आक्रोश पोखे।”

“माओवादीका धूर्त नेताहरूले आफ्नै स्वार्थका लागि चलाएको ‘कथित जनयुद्ध’ मा लागेर उनीहरूको ‘युज एण्ड थ्रो’ मा परेका उदय शेर्पाइलीजीलाइ भेट्न गएँ। रुकुम पश्चिम पुर्तिमकाँडाका ४३ वर्षीय उदय शेर्पाइलीजी अहिले तुलसीपुर–१८ हेमन्तपुरमा बस्छन्। २०५७ सालमा रुकुमकोट प्रहरी चौकी आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । बायाँ कोखाबाट पसेको गोली दायाँ कोखाबाट निस्किएको थियो। ज्यान अपाङ्ग भएपछि उनी सेना समायोजनका क्रममा अवकाशमा परे। सङ्क्रामस्थित शिवीरबाहिर आएपछि उनी रुकुम फर्कन सकेनन् । ‘संसार बदल्न हिँडेको मान्छेले देश र जनतालाइ धोकादिएर आफ्नो गाउँ फर्कन मन लागेन । यहीं बस्न थालियो’ उनले भने। ‘अहिले जीवन निर्वाह गर्न कठिन भएको छ । त्यो त्याग र बलिदानको सम्मान त भएन नै, धूर्त नेताहरूले ठाडै धोका दिएको महसूस भएको छ।’ आक्रोश पोखे।”

“माओवादी धूर्त नेताहरूले युज एण्ड थ्रो गरी फालेका भूलबहादुर बिकलाइ पनि भेट्न गएँ। उनी रुकुमपूर्व हुकामका हुन्। ३८ वर्षका भएछन्। भूलबहादुर विक २०५९ कात्तिक २८ मा जुम्लाको खलङ्गामा भएको आक्रमणमा घाइते भएका थिए । समयमा उपचार नहुँदा उनको दायाँ खुट्टा काट्नुपरेको थियो । अहिले उनी बैसाखीको भरमा हिँड्छन् । श्रीमती, तीन छोरा र एक छोरीका साथ उनी पनि तुलसीपुर–१८ धनखन्नेमा बस्छन् । ‘यो अवस्थामा रुकुम बसेर ज्यान पाल्न कठिन हुने भयो । पहाडको उकालीओरालीमा गाह्रो होला भनेर यहीं बसियो।’ उनले भने। ‘तर यहाँ पनि साह्रै नै कठीन छ । जहानपरिवार पाल्न मिल्ने कुनै उपाय छैन।’

उहाँहरूलगायत सबैको एउटै आवाज रहेछ – ‘हामीलाई भर्याङ बनाएर धूर्त, चलाक, छट्टुहरू माथि पुगे। हामी भर्याङ बनिदिनेजति सबैको जीवन नरक भयो।” निन्द्रा लाग्लाजस्तो भयो। कुमारी नेपालीले धूर्त नेताहरूलाइ सम्झेर प्याच्च थुकिन्, लामो सास फेरिन् र आँखा चिम्लिन्।

( कथाको मोडेलमा गढिएको भएपनि बिवरण तथा पात्रहरू सबै बास्तविक हुन्। उनीहरूको नाम, ठेगाना पनि यथार्थ नै हो। यो कथा ७ महिनाअघि July 21, 2021 मा लेखिएको हो।)

आनन्दराम पौडेल
थप जानकारी