साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १९.४२ अंकले घटेको छ। यसदिन नेप्से ०.९५ प्रतिशतले  घटेर २०१०.३५ बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन ३ अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँ पुगेको छ।

यस दिन २८५ वटा धितोपत्रको ९० लाख ३ हजार ९४१ कित्ता सेयर किनबेच भएको हो।आइतबार तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।यसदिन स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सेयर मूल्य सर्वाधिक घट्नेमा शुभम् पावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९४५ रुपैयाँमा सीमित भएको छ। यस्तै, नबिल ब्यालेन्सड् फण्डको इकाइ मूल्य ५.४५ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ५० पैसा कायम भएको छ।

आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ। बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएकाले सर्वाधिक कारोबार भएकाे हाे। बैंककाे भदौ २६ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा आजसम्मका कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन्। उक्त कम्पनीको प्रतिकित्ता २६३ रुपैयाँ ६० पैसामा १३ करोड २४ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६१ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४५५ रुपैयाँ ९० पैसामा ९ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक ०.९९ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले घटेको हो।
via setopati

अनिरुद्रखबर संवाददाता
थप जानकारी