हेटौंडा । बागमती प्रदेशको प्रदेश युवा परिषद्को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत कार्यालयको लोगो र स्लोगान निर्माण गरेको छ । उत्कृष्ट लोगो र स्लोगन बनाउनेलाई शुक्रबार एक कार्यक्रमकाबीच पुरस्कृतसमेत गरिएको छ ।

परिषद्ले बिभिन्न तिन चरणमा लोगो र स्लोगनको माग गरेको थियो । जसमा प्रारम्भिक चरणमा लोगोतर्फ र स्लोगनतर्फ ३र३ जना छनौट भएका थिए । उनीहरुमध्ये उत्कृष्ट स्लोगन लेख्ने केशव समर्पण सुबेदी र उत्कृष्ट लोगो बनाउने निश्चल पराजुलीलाई परिषद्ले पुरस्कृत गरेको हो । लोगो तथा स्लोगान छनौट समितिमा प्राध्यापक डा।शकंर उपाध्यय,साहित्यकार निमेष निखिल,पत्रकार गिरिजा अधिकारी र अधिबक्ता ऋषि केबी रहेका थिए ।

छनौट समितिको निर्णयले पराजुली र सुबेदी पुरस्कृत भएका थिए । स्लोगन तर्फ केशब सर्मपण सुबेदीले लेखेको ‘सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धनः बागमतीमा युवा सशक्तीकरण’ स्लोगन उत्कृष्ट ठहरिएको थियो भने निश्चल पराजुलीले बनाएको लोगो उत्कृष्ट भएको थियो । उत्कृष्ट लोगो बनाउने पराजुलीलाई नगद ५० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो भने स्लोगनतर्फ केशब सर्मपण सुबेदीलाई नगद ३० हजार सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

पुरस्कृत दुबैजनालाई परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागााई, छनौट समितिका गिरिजा अधिकारी, कार्यालयका निमित्त प्रमुख रमेश घिमिरेलगायतले सम्मान प्रदान गरेका थिए । युवाहरुको हकहितको संरक्षण, सम्बर्द्धन र सशक्तीकरणमार्फत शिक्षा, सीप, उद्धमशीलता र रोजगार प्रबर्धन गर्ने गर्ने उद्धेश्यका साथ प्रदेशको युवा तथा खेलकुद मन्त्रालयअन्तरगत प्रदेश युवा परिषदको कार्यालय स्थापना गरिएको हो । प्रदेश सरकारले प्रदेश युवा परिषद् एन र नियमावलीसमेत जारी गरी कार्यान्वयन गरिसकेको छ । सोही एनअनुसार स्थापित प्रदेश युवा परिषद्को कार्यालयले स्थापनाको छोटो समयमा कार्यालय स्थापनाका साथै प्रदेशको १३ वटै जिल्लामा जिल्ला शाखा गठन गरिसकेको प्रदेश युवा परिषद्को कार्यालयका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।