हेटौँडा । तरकारी खेतीको उर्वर क्षेत्र मकवानपुरको थाहा नगरपालिकाका किसानहरु उत्पादनको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउँदा उनीहरु चिन्तित बनेका हुन् ।

थाहा नगरपालिका वडा नं. ३ का किसान भुवन सेढाईले ७ हजार बन्दाको बेर्ना रोपेका थिए । अहिले बिक्रीका लागि तयार भैसक्यो । सामन्यतया उक्त बन्दा १० टन उत्पादन हुन्छ । १० रुपैंया प्रति किलोमा बेच्न पाउँदा १ लाख आम्दानी हुन्छ । सेढाईले भने, ‘तीन महिना मेहनत गर्दा १ लाख आम्दानी हुन्थ्यो ।’ उनले थपे, ‘२५ हजार लगानीमा खर्च हुँदापनि ७५ हजार बचत हुन्थ्यो । कुनै समय ५० रुपैंया किलोमा समेत बिक्री हुनगरेकोे बन्दा यसपाली प्रति किलो ३ रुपैयामा पनि बिक्न मुस्किल छ ।’

त्यस्तै थाहा नगरपालिका वडा नं. ४ फापरबारीका कृषक कुमारी तामाङले उत्पादन गरेको करिब ३ टन मुला ५÷६ रुपैयामा बिक्री हुन पनि मुस्किल छ । तामाङले भनिन्, ‘लगानी नै १० हजार भन्दा बढी लाग्छ । जम्मै मुला बेच्दा २० हजार पनि आउँदैन कसरी जीवन धान्नु ?’

सेढाई र तामाङ प्रतिनिधि पात्र मात्रै हुन । उनीहरु जस्ता सयौं किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउँदा चिन्तित भएका छन् । अन्य तरकारीको तुलनामा बन्दा र मुलाको खेती बढी भएको अवस्थामा बिक्री मूल्य निकै कम हुँदा लगानी डुबेर नोक्सानी हुने अवस्था आएको बताउँछन ।

बर्सेनी आफूले उत्पादन गरेका तरकारीले मूल्य नपाएपछि कृषकहरु बिकल्पको रुपमा बैदेशिक रोजगारी रोज्नुपर्ने बाध्यतामा परेको स्थानीय कृषक तोकबहादुर लो ले दुखेको पोखे । थाहा नगरमा काउली, मुला, बन्दा, गाँजर, खुर्सानी, धनियाँ लगायतको तरकारी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन हुने तरकारी मध्य बन्दा र मुलाको बिक्री मूल्य निकै कम भएको किसानहरुको गुनासो छ ।

राज कुमार के.सी.
थप जानकारी