हेटौंडा । ‘चिउरी, चेपाङ र चमेरोः एक नयाँ आयामको खोजी’ पुस्तक सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री मसिना खड्काले डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले लेखेको उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै चेपाङको संस्कृतिसँग जोडिएको चिउरीको रुख जोगाउन सके पश्चिम मकवानपुरमा बसोबास गर्ने चेपाङ समुदायको आर्थिक समुन्नति हुने बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्काले बताइन् । मनहरीस्थित डिभिजन वन कार्यालय राप्ती परिसरमा पुस्तक सार्बजनिक कार्यक्रममा मन्त्री खड्काले चिउरीलाई एउटा बहुउपयोगी बृक्ष भएकोले यसको संरक्षणसँगै उपयोगितामा जोड दिइन् । खड्काले चिउरीको संरक्षण गर्दै यसका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन र नीतिगत व्यवस्थाका लागि प्रदेश सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री एबम् चेपाङ अगुवा सन्तबहादुर चेपाङ, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन कार्यालय चितवनका प्रमुख लोकराज नेपाल, चिउरीको बिषयमा पिएचडी अध्ययन गरिरहनु भएका श्रीहरि भट्टराई, राक्सिराङ गाउँपालिका ८ नम्बर वडाध्यक्ष हविल प्रजा, ५ नम्बर वडाध्यक्ष हरि प्रजा, कार्यपालिका सदस्य सिंगलाल प्रजासहितका जनप्रतिनिधिहरु, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरु, चिउरी व्यवस्थापनमा ध्यान दिइरहेका विभिन्न सामुदायिक वनका प्रतिनिधिहरु र उपभोक्ताहरुले चिउरीको जगेर्ना, विकास र बजार व्यवस्थापनमा चासो व्यक्त गरेका थिए ।

डिभिजन वन कार्यालय राप्ती र राक्सिराङ गाउँपालिकाको संयुक्त पहलमा प्रकाशित पुस्तक मन्त्री खड्काले चेपाङ समुदायलाई हस्तान्तरण गरी सार्बजनिक गरेका थिए । पुस्तकका सन्दर्भमा लेखक एबम् डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले स्पष्ट पारेका थिए । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा चितवनको राप्ती नगरपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रबाट चिउरी संरक्षणकर्मी सहभागिता रहेको थियो ।