हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले कर्मचारीहरुलाई अतिरिक्त कार्य नगरेको अबस्थामा अतिरिक्त सेवा सुबिधा बापत दिइने भत्ता रकम नदिने भएको छ । पालिकाको समिक्षा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष सर्केश घलानले अतिरिक्त सेवासुबिधाको लागि अतिरिक्त कार्य गर्नको लागि निर्देशन दिए ।

अध्यक्ष घलानले कर्मचारी राष्ट्रसेबक कर्मचारी राष्ट्रको खम्बा भएको बताउँदै १० बजेदेखी ५ बजेसम्मको तलब सुबिधा बाहेक भत्ता रकम लिन शुक्रबार र शनिबार पनि कार्य गर्नुपर्ने स्पष्ट पारे । उनले भने“निर्धारित सेवाको लागि सुबिधा पनि निर्धारित नै छ भने अतिरिक्तको लागि अतिरिक्त खटिन जरुरी छ ।” उनले बागमती गाउँपालिकामा कर्मचारीहरुले उत्कृष्ट काम गर्दै आएको बताउँदै आगामी दिनमा झन् उत्कृष्ट कार्य गर्न आग्रह गरे ।

राज्यले गरेको खर्चको उपलब्धी निकाल्न पनि उनले सुझाए । कर्मचारीहरुलाई आफुले गरेको कार्यको प्रतिबेदन चुस्त दुरुस्त राख्न पनि आग्रह गरे । अध्यक्ष घलानले पालिकाको लगानीमा संचालित स्रोत साधनहरुले लगानीभन्दा दोब्बर कार्य प्रगती गराउने जिम्मेवारी पनि पालिकाको जनप्रतिनीधि सहित कर्मचारीहरुको भएकोले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरे । यसको साथै सेवा दिने बिषयमा सम्झौता नगर्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा वडा सचिवहरु, बिषयगत शाखा प्रमुखहरुले कार्य प्रगती विवरण, समस्या, चुनौतीको साथै सुझाव समेत प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगाएतले जिज्ञासा राख्नुको साथै सुझाब दिएका थिए ।