हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेपालका सबै कम्युनिष्ट पार्टी एक ढिक्का हुन आवश्यक रहेको बताएका छन । जनमुक्ति सेना नेपाल मकवानपुरको तेस्रो भेलालाई बागमतीको झुरझुरेमा सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टी एक भएमात्रै देश समृद्ध हुने विश्वास व्यक्त गरे ।

टुक्रिएका कम्युनिष्ट दलहरुको एकता हुने बताउँदै नेता गुरुङले एकै कित्तामा उभिने बेला आएको बताए । उनले युद्धका बेला देखिएको परिर्वतनको सपना पूरा गर्न अझैं बाँकी रहेकाले शान्ति सम्झौतापछिको १८ बर्षको अवधिमा व्यवस्था परिर्वतन भएपनि अवस्था उस्तै रहेकोप्रति चिन्ता व्यक्त गरे । शान्ति सम्झौंता टुंगोमा नपुगेको कारण समय समयमा समस्या आइरहेको उनको भनाई छ ।

उनले आगामी दिनमा झुरझुरेको युद्ध मैदानलाई ऐतिहासिक संग्राहालयको रूपमा बिकास गर्न केन्द्रबाट सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । जनयुद्धको क्रममा ज्यान गुमाएका सहिद परिवारको लागि शोक व्यक्त गर्दै मुलुकको समृद्धिको लागि कम्युनिष्ट पार्टी र अन्य दलहरुबीच आपसी सहकार्य हुनुपर्नेमा उनले जोड दिए । १० बर्षे जनयुद्धमा होमिने क्रममा बागमती गाउँपालिका झुरझुरे मोर्चामा ज्यान गुमाएका सहिदको सम्झनाका साथै युद्ध भूमिमा भएका घट्नाको स्मरणको लागि सोही स्थानमा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले दशबर्षे जनयुद्धबाट प्राप्त भएको उपलब्धी संस्थागत गर्नपर्ने बताउँदै युद्धको प्रकृति फरक रहेपनि युद्ध अझैं नसकिएको स्पष्ट पारिन । उनले ठुलो लडाइबाट अहिलेको व्यवस्था प्राप्त भएको बताउँदै जनताको अबस्था बदल्न सरकार प्रयासरत रहेको बताइन ।

सोही अवसरमा युद्ध मैदानमा जन्मिनुभएका स्थानीय युद्ध वीर बज्यूको १८ बर्ष पुगेको उपलक्ष्यमा दिप प्रज्वलन सहित जन्मोत्सव पनि मनाइएको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रलाद लामिछाने, केन्द्रीय सदस्य तथा मकवानपुर गढी गाउँपालिका उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन, नेकपा माओवादी बागमती प्रदेश उपाध्यक्ष तथा बागमती सांसद प्रेम बहादुर पुलामी, नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, जिल्ला स्तरका नेताहरू र जनमुक्ति सेनाको सहभागिता रहेको थियो । बटालियन कमाण्डर प्रकाश घर्ती मगरको सभाध्यक्षतामा भएको कार्यक्रम नेकपा माओवादी केन्द्र बागमती अध्यक्ष अरुण बलले संचालन गरेका थिए ।