हेटौंडा । नवसर्जक कृशु अर्यालकाे कविता कृति सार्वजनिक भएकाे छ । बालजागृति इङ्लिस सेकेण्डरी स्कुलकी पूर्व विद्यार्थी अर्यालको कविता सङ्ग्रह ‘पल्लवित पाइला’ बुधबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएकाे हाे ।

बालजागृतिकाे आयाेजनामा बुधबार एक कार्यक्रमकाबीच अर्यालको पहिलो कृति विमाेचन गरिएकाे हाे । विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।

कृतिमाथि साहित्य सङ्गम मकवानपुरका सल्लाहकार श्याम कुमार बानियाँ र आँचल साहित्य कला पुञ्चकी अध्यक्ष भावना सापकोटाले समिक्षा गरेका थिए । ३७ वटा कविता समावेश भएको  सङ्ग्रहमा केही संशाेधनकाे खाँचाे देखिएकाे समीक्षक बानियाँले बताए । पुस्तकमा सामाजिक विकृति र विसङ्गति, व्याप्त भ्रष्टाचार, नारीको विभेदलगायतको विषयवस्तु कवितामा समावेश भएको अर्का समिक्षक भावना सापकोटाले बताइन् । स्थानीय पत्रपत्रिकामा प्रकाशित लेख रचनालाई समावेश गरी पुस्तक तयार गरेको लेखक कृशु अर्यालले बताइन् ।

पुस्तकको प्रकाशक अर्यालको हजुरबुवा ढुण्डिराज पोखरेल रहेका छन् । कार्यक्रममा बाल जागृति विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारी, साहित्यकार मुना अर्याल, कृशुका बुवा कृष्ण अर्याललगायत साहित्यकारहरूको आतिथ्यता रहेको थियो ।