हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले शिक्षक बैंक स्थापना गर्ने भएको छ । पालिकाले सूचना जारी गर्दै शिक्षक बैंक स्थापना गर्ने जनाएको हो । पालिका शिक्षा समितिको गत चैत्र १७ गतेको निर्णयअनुसार “शिक्षक बैंक व्यवस्थापन कार्यविधि, २०८०” बमोजिम शिक्षक बैंक स्थापना गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

शिक्षक बैंक अन्तर्गत शिक्षक प्रतीक्षा सूची रहने छ । पालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक लामो समय बिदामा बस्दा बिदा अवधिभर उक्त प्रतीक्षा सूचीमा सूचीकृत शिक्षकलाई खटाइने गाउँपालिकाले जनाएको छ ।

सूचनामा बालविकास केन्द्र सहजकर्ता, प्रावि, निमावि र मावि तहका लागि दरखास्त आह्वान गरिएको छ । बालविकास र गाउँपालिका अनुदानका लागि स्थायी अध्यापन अनुमतिपत्र अनिवार्य गरिएको शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिए । अस्थायी र करारको लागि भने ऐन तथा नियमानुसार सिफारिस हुने उनले बताए ।

“सामुदायिक विद्यालयका शिक्षकहरूले शिक्षा ऐन तथा नियमावली बमोजिम पाउने विविध प्रकारका अदाहरू कुनै न कुनै बेला उपयोग गर्न पाउनेछन्, गाउँपालिकाको सामाजिक विकास शाखाको संयोजक कमान सिं पाख्रिनले भने– ‘कतिपय विद्यालयमा रिक्त अस्थायी दरबन्दी रहेको अवस्था पनि छ ।” यस्तो अवस्थामा शिक्षक बैंकले दैनिक शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिने र नवशिक्षकलाई थप शिक्षणको तयारीसँगै आर्थिक रुपमा पनि टेवा पुग्ने उनले बताए ।

निमावि र मावि तहको लागि विषयगत शिक्षक माग गरिएको छ । जसमा अंग्रेजी, गणित, विज्ञान र कम्प्युटरका लागि विषयगत रुपमा दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ । शिक्षक बैंक अन्तर्गत रहने शिक्षक प्रतीक्षा सूचीमा सूचीकृत हुन ईच्छुक र योग्यता पुगेका व्यक्तिहरूले गाउँपालिकामा सम्पर्क गर्न भनिएको छ । बागमती गाउँपालिकामा ३५ प्रावि, निमावि १० र मावि ५ सहित ५० वटा सामुदायिक विद्यालयहरू छन ।