हेटौंडा । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले नौं जनालाई सम्मान गरेको छ । प्रतिष्ठान नेपालले शनिबार हेटौंडामा कार्यक्रमको आयोजनागरी नौ जनालाई विविध विधामा सम्मान गरेको हो ।

भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीका साहित्यकार कुन्ता शर्मालाई, भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० मकवानपुरका कलाकार बिएस रानालाई, भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार २०८० मकवानपुरकै सङ्गीतकार लाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा कला साधन भीम विरागको नाममा पहिलो पटक प्रदान गरिएको चार वटै राष्ट्रिय पुरस्कारको राशि २५ हजार रुपियाँ र प्रमाणपत्र रहेको छ । यसैगरी, २० हजार रुपियाँ राशिको रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार २०८० लोक गायिका पम्फा थापा मगरलाई प्रदान गरिएको छ । भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मधुपर्कका पूर्वसम्पादक जयदेव भट्टराई प्रदान गरिएको थियो ।

शिला नारी पुरस्कार २०८० खेलाडी निरु मगरलाई, तुलसीमाया– शिवकुमारी सिर्जनशील नारी पुरस्कार २०८० गीतकार मञ्जु खराललाई, मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार २०८० स्वास्थ्यकर्मी सीमा मिश्रलाई र अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार २०८० दृष्टिविहीन शिक्षिका अञ्जु धिताललाई प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्मानितहरू कुन्ता शर्मा, लाल श्रेष्ठ, पम्फा थापा मगर, प्रतिष्ठानका पूर्व अध्यक्ष ह्यग्रीव आचार्य, उपाध्यक्ष श्यामकुमार बानियाँ, सचिव सुरेश श्रेष्ठ, मञ्जु खराल, आँचल साहित्य कला पुञ्जका अध्यक्ष भावना सापकोटा, विनोद बानियाँलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्रष्टाहरूबाट कविता र गीत प्रस्तुत गरेका थिए ।