हेटौँडा । बागमती नदीमा एकलाख माछाका भुरा छोडिएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिका हुँदै बग्ने बागमती नदीमा एकलाख पच्चिस हजार माछाका भुरा छाडिएको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले बागमती नदीमा रहू तथा नैनी प्रजातिका माछाका भुरा छोडेको हो । प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्रले प्राकृतिक जलाशायमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नको लागी स्थानीय जातका माछाका भुरा छोडिएको केन्द्रका बरिष्ठ मत्स्य विकास अधिकृत सरोज कुमार यादवले जानकारी दिए ।

बागमती नदीमा आश्रित थुप्रै परिवार रहेकाले उनीहरुलाईसमेत ध्यान दिएर माछा नदीमा छोडेको यादवले बताए । यहाँ माझी समुदायको बाहुल्यता रहेको र माछा मारेरै उनीहरुले जिविका धान्ने गरेपनि अहिले नदीमा माछा नपाइदा उनीहरुको परम्परागत पेशा नै संकटमा परेको उनले बताए ।

नदीमा माछा लोपभएसँगै अहिले गोही, चराहरु र जलसँग आश्रित जिवजन्तु संकटमा पर्दै गएका छन । माछा धेरै जीवजन्तुको आहारा भए पनि यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने भएकाले माछाको सङ्ख्या वृद्धि गर्न, नदीमा आश्रित परिवारलाई राहात दिन र पर्यावरण संरक्षणमा सहयोग पुग्ने केन्द्रको विश्वास छ । प्रति माछाका भुरा ७५ पैसामा खरिद गरि नदीमा छाडिएको थियो ।

बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले यहाँ माझी लगायत जलसँग आश्रित समुदायको पेश संकटमा पर्दै गएको बताए । उनले अघिल्लो पुस्ताहरुले माछा मारेरै जिविका चलाएपनि अहिले नदीमा फोहर, ढल, केमिकल मिसाइदा र नियमविपरित नदी उत्खनन् गर्दा जलिय प्राणी हराउँदै गएको चिन्ता व्यक्त गरे । उनले माछा मार्नका लागि खोलामा बिषादी हाल्ने, करेन्ट लगाउने लगायतका कार्य तत्काल रोक्नुपर्नेमा जोड दिए ।

बागमती नदीमा वागी, वुदुना, वाम, सहरी, गर्दी, लहरी, कत्ले लगायतका माछा पाउने गरेको स्मरण गर्दै बागमती गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष दन्त लाल माझीले अहिले नदीमा माछा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले माझी समुदायको पेशा नै संकटमा परेको बताए । ‘हाम्रो बाजे बाबुले नदीमा गएर माछा मारेर ल्याउनुहुन्थ्यो, सानोमा म आफैं पनि माछा मारेर घरको छाक टारथें, अहिले खोलामा माछा नै पाउन छाड्यो नदीसंग जोडिएको हाम्रो पेशा लोप हुँदै गयो’–वडा अध्यक्ष माझीले स्मरण गरे ।