हेटौंडा । गाउँकै पढेलेखेका र बुद्धिजीवीमा गणना हुने ४७ वर्षीय कल्याण घलानले हालै मात्र झुण्डिएर आत्महत्या गरे । एमए, बीएल र बीएड गरेका मकवानपुरको थाहा नगरपालिका–७ लप्सीफेदीका उनले घरमाथिपट्टिको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

नगरमै बुद्धिजीवीको परिचय बनाएका घलानले केही समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका थिए । थाहा नगरपालिका–८ स्थित इन्द्रायणी माविमा गत मंगलबार दिनभर पढाएर घर फर्किने क्रममा उनले रूखमा झुण्डिएर आत्महत्या गरेको प्रधानाध्यापक नारायणबहादुर कार्कीले बताए । ‘डिप्रेसनको औषधि सेवन गरिरहनु भएको थियो तर त्यस्तो अरु केही थिएन, आत्महत्या पो गर्नु भएछ,’ उनले भने, ‘यो गाउँकै उहाँ असल शिक्षक, सामाजिक कार्यकर्ता र बुद्धिजीवी हुनुहुन्थ्यो ।’

यसैगरी, ३१ वर्षीया राममाया थिङले पनि घर नजिकैको जंगलमा गएर झुण्डिएर आत्महत्या गरिन् । सासूसँग भएको घरायसी विवादका कारणले गत असार १ मा उनले आत्महत्या गरेको स्थानीयले बताए । बकैया गाउँपालिका–८ की थिङका पति रोजगारीका लागि विदेश गएका छन् । उनका एक छोरा र एक छोरी छन् । छोराछोरी पढाउन हेटौंडामा डेरा लिएर बस्ने उनको सोच थियो । सासूले उक्त कुराको विरोध गरेकाले राममायाले आत्महत्या गरेको हुन सक्ने छिमेकीहरूको अनुमान छ ।

यसै गरी, मनहरि गाउँपालिका–४ की ५९ वर्षीया एक महिलाले गत जेठ ६ मा घरको धुरीबलोमा झुन्डिएर आत्महत्या गरिन् । छोराबुहारीले हेला गरेको भन्दै उनले डोरीले घाँटीमा पासो लगाएर झुन्डिएर आत्महत्या गरेकी हुन् । यसैगरी गत फागुनमा मकवानपुरगढी–३ का ६७ वर्षीय वृद्धले तरकारीमा हाल्न ल्याएको विषादी सेवन गरेर आत्महत्या गरे ।

यी वृद्धवृद्धा दुवै जना लामो समयदेख कम बोल्ने र एकान्तमा बस्न रुचाउँथे । कोहीसँग पनि खुलेर कुरा गर्दैनथे । ‘डिप्रेसनका कारणले यी वृद्धवृद्धाहरूले आत्महत्या गरेका हुन सक्छन्,’ हेटौंडा अस्पतालका डा।कमल दवाडीले भने, ‘यहाँ भएका अधिकांश आत्महत्या डिप्रेसनका कारणले हुने गरेका छन् । ’ वृद्धवृद्धा, अधवैंशे उमेरका मात्र होइन, १२ वर्षकी एक बालिकाले पनि घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।

आव ०७८र०७९ मा मकवानपुरमा १ सय २५ जना र आव ०७९/०८० मा ५७ महिलासहित १ सय ५२ जनाले आत्महत्या गरेका छन् । आव ०८०/०८१ मा १ सय ४४ जनाले आत्महत्या गरेको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार मकवानपुरमा महिनामै ११र१२ जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्याको घटना मकवानपुरमा मात्र बढेको होइन, सिंगो वाग्मती प्रदेशमा बढेको देखिन्छ ।

चितवनमा आव ०७८र०७९ मा २ सय १४ जनाले आत्महत्या गरेका थिए भने आव ०७९र०८० मा २ सय २४ र गत आवमा २ सय ३१ जनाले आत्महत्या गरेका छन् । उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशअन्तर्गत रहेका १० जिल्लामा तीन वर्षमा सबैभन्दा बढी आत्महत्या गर्नेको संख्या चितवनमा देखिएको छ । धादिङमा अघिल्लो आवमा १ सय ४२ जनाले आत्महत्या गरेका थिए भने गत आवमा १ सय ९ जनाले आत्महत्या गरेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

वाग्मती प्रदेशमा सबैभन्दा कम आत्महत्या गर्नेमा रसुवा रहेको छ । यहाँ आव ०७८र०७९ मा ५ जनाले, ०७९र०८० मा ४ जनाले आत्महत्या गरेका थिए भने ०८०र०८१ मा ८ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरिक्षक रवि पौडेलले बताए । उनका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लामा आव ०८०र०८१ मा ९ सय ७७ जनाले आत्महत्या गरेका छन् । अघिल्लो वर्ष ९ सय ४० जनाले आत्महत्या गरेका थिए । अधिकांशले झुण्डिएर आत्महत्या गरेका छन् । दुवै वर्ष वैशाखदेखि असाररसाउनमा आत्महत्याका घटना बढी भएका छन् ।

‘उमेर हेर्दा १८ वर्षदेखि ६० वर्ष उमेर समूहका धेरै व्यक्तिले आत्महत्या गरेका छन्,’ मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले भने, ‘पारिवारिक विछोड र मानसिक तनाबका कारणले आत्महत्याको बाटो रोज्ने धेरै छन् ।’ छोरा विदेशमा र बुहारी सहरमा डेरा लिएर बस्ने प्रवृत्तिले गर्दा पनि वृद्धवृद्धाहरूले एक्लै बस्नु परेको पीडा सहन नसकेर आत्महत्याको बाटो रोज्ने गरेका पनि छन् । विदेशमा जोखिम मोलेर आम्दानी गरेको रकम लिएर पत्नीले दोस्रो विवाह गरेर गएको पीडाले पनि वैदेशिक रोजगारीबाट फर्केका केही युवाले आत्महत्या गरेका छन् ।

‘विविध कारणले प्रेम सम्बन्ध सफल नभएको पीडाले पनि युवकयुवतीले आत्महत्याको बाटो रोजेका देखिन्छन्,’ प्रहरी उपरिक्षक रिजालले भने, ‘घरेलु हिंसाका कारण आत्महत्याको बाटो रोज्ने महिलाको संख्या पनि उत्तिकै छ ।’

आत्महत्या कुनै समुदाय र भूगोलमा केन्द्रित छैन । जिल्लाका सबै क्षेत्र र समुदायका व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । ११ वर्षीया बालिकादेखि ७७ वर्षसम्मका वृद्धले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । जिल्लामा भएका सबै आत्महत्याका घटना प्रहरीसम्म आइपुग्दैनन् । प्रहरीलाई जानकारी दिएपछि पोस्टमार्टम गर्न शव सदरमुकाम ल्याउनु पर्ने भएकाले दुर्गम गाउँमा भएका आत्महत्याका घटना प्रहरीलाई जानकारी नदिईकनै परम्परा अनुसार दाहसंस्कार गर्ने गरिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

‘अधिकांश आत्महत्याका घटना डिप्रेसनकै कारणले हुने गरेको देखिएको छ,’ डा। दवाडीले भने, ‘एक्लै बस्ने, झोक्राउने व्यक्तिहरूले नै आत्महत्याको बाटो रोज्छन्, बर्सेनि यस्ता घटना किन बढ्दै छन् भन्ने विषयमा समाजशास्त्रीय दृष्टिकोणले अध्ययन गरी यस्ता घटना न्यूनीकरणको प्रयास चालिनु जरुरी छ ।’

सहनशीलता एवं धैर्यको कमी, आत्महत्यालाई निरुत्साहित गर्न सरकारी स्तरबाट कुनै प्रयास नहुनुजस्ता कारणले आत्महत्याका घटना बर्सेनि बढ्दो क्रममा रहेको चिकित्सकहरूको तर्क छ । आत्महत्या रोक्ने कुनै सरकारी गृहकार्य एवं चेतनामूलक कार्यक्रम सञ्चालन नहुँदा पनि यस्ता घटनामा वृद्धि भएको उनीहरूको दाबी छ । कान्तिपुरबाट