हेटाैँडा । सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घोषणा गरेको छ। बिहीबार गाउँसभाले ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको ७ नम्बर वडालाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरेको हो।

गाउँसभाको बैठकमा कार्यपालिका सदस्य हबिल प्रजाको चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घोषणासम्बन्धी प्रस्तावमा कार्यपालिका सदस्य रामबहादुर प्रजाले समर्थन जनाएका थिए। गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त प्रस्ताव सभामा निर्णायार्थ प्रस्तुत गरेकोमा सर्वसम्मत पारित भएको हो।

सीमान्तकृत चेपाङ समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक संरक्षण एवं चेपाङको थातथलोको संरक्षण गरी पर्या–पर्यटन प्रवर्द्धन र विस्तार गर्ने उद्देश्यका साथ सो घोषणा गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए।

विपन्न चेपाङ समुदायको जीविकोपार्जन कार्यक्रमअन्तर्गत संरक्षित क्षेत्रमा ‘एक टोल एक उत्पादन’ कार्यक्रम ल्याइने उनको भनाइ छ। उनले संरक्षित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले छिट्टै वार्षिक ५० लाख रुपैयाँ बजेट छुट्याउने तयारी गरेको बताए। अध्यक्ष मल्लका अनुसार राक्सिराङ– ७ मा धिराङ, दामराङजस्ता विकट बस्तीहरू छन्। उक्त वडामा पुग्नका लागि चितवन जिल्लाको भण्डारा हुँदै जानुपर्ने बाध्यता छ। भर्खरै मात्र गाउँमा मोटरबाटो पुगे पनि अझै व्यवस्थित हुन सकेको छैन।

विपन्न चेपाङ जातिको उत्थानका लागि विभिन्न तहका सरकारले कार्यक्रमहरू घोषणा गरे पनि त्यो प्रभावकारी नभएकाले स्थानीय तह आफैँ जागरुक भएर विशेष क्षेत्र घोषणा गरेको अध्यक्ष मल्लको भनाइ छ। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारअनुसार नै आफूहरू अघि बढेको उनले बताए।

गाउँसभाको हिउँदे अधिवेशनबाट अर्धवार्षिक समीक्षा, न्यायिक समितिको वार्षिक प्रतिवेदन र मेलमिलापकर्ताहरूको नामावली अनुमोदन भएको छ। बजेट तथा कार्यक्रम र विनियोजन ऐनसमेत संशोधन गरिएको छ।

यस्तै, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजामाथि छलफल गर्ने प्रस्ताव र गाउँपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित भएको छ।