हेटौँडा । हेटौँडा–४, हुप्रचौरको भलिबल कोर्टमा आइतवार भएको पाँचौं संस्करणको जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि मकवानपुरगढी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयले जितेको छ ।

हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माविको सहव्यवस्थापनमा भएको प्रतियोगिताको फाइनल खेलमा बकैया गाउँपालिकास्थित महेन्द्र माध्यमिक विद्यालयलाई ३–० को सोझो सेटले हराउँदै शारदा माविले उपाधि कब्जा गरेको होे । शरदा माविले २५–१५, २५–२१ र २५–१९ को सोझो सेटमा नतीजा निकालेको थियो ।

प्रतियोगिताको उपाधि विजेता शारदा माविको टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता महेन्द्र माविको टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, सेमिफाइनलमा पराजित भएका हेटौँडा–५ स्थित जीएस निकेतन र मकवानपुरगढी गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयको टिमले ५-५ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको शारदा माविका आशिष घलान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । उत्कृष्ट स्पाइकर शारदाकै अमर गोले र उत्कृष्ट सेटर महेन्द्र माविका प्रकाश थापा मगरले २÷२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा २४ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेता, उपविजेतालाई एमाले मकवानपुरका नेता रामेश्वर राना, ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहाल,मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा ४ नं. वडा सचिव पुष्पराज पुडासैनी, प्रतियोगिता संयोजक राजाराम पोखरेललगायतको आतिथ्य रहेको थियो ।