हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रवाराही स्वास्थ्य चौकी तेस्रो पटक जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषणा भएको छ । न्यूनतम सेवा मापदण्ड (एमएसएस) मापनमा ९९ प्रतिशत अङ्क हासिल गर्दै बज्रवाराही स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य चौकी घोषणा भएको हो ।
हेटौँडा उपमहानगरपालिकातर्फ हेटौँडा–१५ मा रहेको चुरियामाई स्वास्थ्य चौकी, बागमती गाउँपालिका–६ मा रहेको बेतिनी स्वास्थ्य चौकी फापरवारी, बकैया गाउँपालिका–९ मा रहेको शिखरपुर स्वास्थ्य चौकी र मकवानपुर गढी गाउँपालिका–५ मा रहेको आम भन्ज्याङ स्वास्थ्य चौकी उत्कृष्ट हुन सफल भएका छन् ।
त्यस्तैगरि भिमफेदी गाउँपालिका–२ भैँसे स्वास्थ्य चौकी, इन्द्र सरोवर गाउँपालिका–३ मा रहेको सिस्नेरी स्वास्थ्य चौकी, कैलाश गाउँपालिका–५ मा रहेको गोगने स्वास्थ्य चौकी, राक्सिराङ गाउँपालिका–२ मा रहेको सरिखेत स्वास्थ्य चौकी र मनहरी गाउँपालिका–३ हाँडीखोला स्वास्थ्य चौकी उत्कृष्ट हुन सफल भएका छन् । उत्कृष्ट भएका मध्य सबैभन्दा कम अङ्क बकैया गाउँपालिकाले प्राप्त गरेको छ ।
थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्ट, स्वास्थ्य निर्देशक डा.नरेन्द्र कुमार झा, जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजार, जनस्वास्थ्य कार्यालय मकवानपुर कार्यक्रम संयोजक शिखा भुजेलले स्वास्थ्य चौकी स्तरीय न्यूनतम सेवा मापदण्ड पुरा गर्ने सर्वोत्कृष्ट र उत्कृष्ट स्वास्थ्य चौकीलाई प्रशंसा पत्र वितरण गरेका थिए । जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको दुई दिने कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले समीक्षा प्रस्तुतीकरण गरेका थिए । जनस्वास्थ्य कार्यालय मकवानपुरकी जनस्वास्थ्य अधिकृत शिखा भुजेलले जिल्लाको प्रगति प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, मनहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतकाले शुभकामना दिएका थिए । जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य निरीक्षक वासुदेव रिमालले कार्यक्रम सञ्चालन गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्