हेटाैँडा । कांग्रेस बागमती प्रदेश संसदीय दलले सुरजचन्द्र लामिछानेलाई प्रवक्तामा नियुक्त गरेको छ । शनिबार बसेको दलको कार्यसमिति बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

गत ९ साउनमा तत्कालीन संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको क्रममा लामिछानेसहित अन्य तीन मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि उनीहरू अविश्वास प्रस्तावको समर्थनमा खुलेका थिए ।

लामाविरुद्धको अविश्वास प्रस्ताव पारित गर्न र त्यसपछि भएको दलको निर्वाचनमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई जिताउन लामिछानेको महत्वपूर्ण भूमिका रहेको थियो ।

यस्तै, बैठकले तीन सदस्यीय अनुशासन समिति समेत गठन गरेको छ । अनुशासन समितिको सदस्यमा श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् । बैठकले २७ साउन १ बजे कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा दलको बैठक राख्ने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिए ।

बैठकले संसदीय दलका नेता एवम् प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आगामी साउन २७ गते हुने विश्वासको मतको दिन अनिवार्य रूपमा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न पनि सांसदहरूलाई तीन बुँदे ह्विप जारी गर्ने निर्णय गरेको छ। नयाँ पत्रिकाबाट