हेटाैँडा । मकवानपुर प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित हेटौँडाबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश बहराइच जिल्ला बलाई गाउँ बस्ने ३५ वर्षीय किस्मत अली र सोही स्थानका २८ वर्षीय शाहरुख अली रहेका छन्।

उनीहरूलाई प्रहरीले आइतबार बिहान हेटौँडा उपमहानगरपालिका– १५ स्थित रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन रोकी जाँच गर्ने क्रममा पक्राउ गरेको हो। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले प्रहरीले उनीहरूको साथबाट ५ हजार ८५० एम्पुल डाइजेपाम र २४० क्याप्सुल ट्रामाडोल फेला पारेको जानकारी दिए।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको बिआर ०१ पिबी १९०२ भारतीय नम्बरको सुमो गाडी रोकी चेकजाँच गर्ने क्रममा सुमोको पछाडिको बडीभित्र लुकाएर ल्याएको लागुऔषध फेला पारेको हो।

बरामद सामग्री र सवारीसाधनसहित दुवैजनालाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए।