हेटाैँडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकालाई आइतबार ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको छ। थाहा नगरपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको र मातृ तथा नवजात शिशु मृत्युदर शून्य रहेकाले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको हो।

१२ वटा वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलोपटक पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो। थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरू स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३५६ जना सुत्केरी भएका थिए।

आइतबार एक औपचारिक कार्यक्रमबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरेका हुन्। उनले थाहालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्दै जिल्लामा मात्र नभई थाहाले बागमती प्रदेशमै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए।

‘सीमित स्रोत र साधनका बिच एउटा पालिका भएर पनि थाहाले प्रदेशमै स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेलेको छ। थाहालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्न पाउँदा म गौरवान्वित भएको छु,’ उनले भने, ‘म आफ्नो कार्यकालमा मकवानपुरको उत्तरी क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

मुख्यमन्त्री बानियाँले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गर्न मुख्य भूमिका खेलेको भन्दै सबै स्वास्थ्य स्वयंसेविकाहरूको प्रशंसा गरे। उनले राज्यले दिएको सीमित सुविधाका बाबजुद घामपानी नभनी निश्वार्थ सेवा गरेको भन्दै स्वास्थ्य स्वयंसेविकाहरूले राज्यबाट पाउँदै आएको सेवा सुविधामा प्रदेश सरकारले थप बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

कार्यक्रममा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गरे। यस्तै, प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशको स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर स्थापना गर्नुको साथै हवाई उद्धारसमेत गरिरहेकोले थाहाले सुरु गरेको ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणालाई टेवा पुग्ने विश्वास व्यक्त गरे।