हेटौँडा। मकवानपुरमा डेंगु र ‘स्क्रब टाइफस’ का बिरामीको सङ्ख्या दैनिक बढिरहेको छ । बिरामीको सङ्ख्या बढेपछि सरकारी तथा निजीस्तरका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को भदौ १७ गतेसम्म जिल्लामा ३० जनालाई डेंगु सङ्क्रमण भएको हो । जसमध्ये १६ पुरुष र १४ जना महिला रहेका छन ।
भदौ दोस्रो सातासम्म हेटौँडा उपमहानगरपालिका क्षेत्रमा २१ जना, मकवानपुरगढीमा तीन जना, भिमफेदी गाउँपालिका र बकैया गाउँपालिकामा दुई/दुई जना र अन्य जिल्लाका दुई जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा जिल्लामा थप एक जना डेंगु सङ्क्रमित थपिनुभएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमण बढ्दै गएको छ । आव २०८०/८१ मा ८९१ जनालाई डेंगु भएकोमा गत आव २०८१/८२ मा बढेर दुई हजार ६८८ पुगेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा सङ्क्रमण दर तीन गुण बढेको हो भने चालु आवको पहिलो महिनाबाटै डेंगुुको प्रकोप सुरु भइसकेको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेका अनुसार गर्मीयाम र वर्षा सुरु भएसँगै डेंगुको सङ्क्रमण देखिने गरेको छ । विशेष गरेर साउन, भदौ, असोज र कात्तिक अन्तिमसम्म डेंगुको सङ्क्रमण देखिने गरेको उनको भनाइ छ । जाडोयाम सुरु भएसँगै डेंगुको सङ्क्रमण पनि घट्ने गरेको हो । सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने हुँदा डेङ्गुबाट जोगिन घर वरपर तथा कार्यस्थलमा पानी जम्न नदिने, घर झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउन जनस्वास्थ्य कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
त्यस्तै जिल्लामा ‘‘स्क्रब टाइफस’ का बिरामी पनि देखिन थालेका छन् । चालु आवको भदौ १७ गतेसम्म पाँच महिला र तीन पुरुष ‘स्क्रब टाइफस’ बाट प्रभावित भए । किराको टोकाइबाट हुने ‘‘स्क्रब टाइफस’बाट धेरै जस्तो महिला प्रभावित हुने गरेको जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क छ । हेटौँडा उपमहानगरपालिका तीन जना, मकवानपुरगढीमा दुई जना र बागमती गाउँपालिका, बकैया गाउँपालिकामा, कैलाश गाउँपालिकामा एक/एक जना ‘‘स्क्रब टाइफस’बाट प्रभावित भए। गत आवमा ‘स्क्रब टाइफस’ बाट जिल्लामा १६७ पुरुष र ३३८ जना महिलासहित ५०५ जना सङ्क्रमित भएका थिए । गाेरखापत्रबाट












प्रतिक्रिया दिनुहोस्