हेटाैँडा । मकवानपुर प्रहरीले पछिल्ला दुई दिनमा दुई फरक–फरक स्थानबाट लागुऔषध हिरोइन र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ सिक्रेनीबाट ५ ग्राम ३०० मिलिग्राम खैरो हिरोइनसहित सोहि स्थानका २५ वर्षीय उमेश लामा र हेटौंडा–१३ बस्ने २९ वर्षीय विनोद गुरुङ लाई पक्राउ गरेको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पक्राउ परेका उमेश लामाको घरमा लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले सोमबार राति छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यस्तै मंगलबार बिहान इलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसेको संयुक्त टोलीले मकवानपुरको भैसे चेकपोष्टबाट बा २ ख ३२१९ नम्बरको कन्टेनरमा ल्याइएको १५७ किलो १२० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
नियमित सवारी जाँचको क्रममा कन्टेनरबाट प्रहरीले कन्टेनरको पछाडिको डिब्बाभित्र लुकाइराखिएको १२ वटा पोकामा उक्त परिमाणको लागूऔषध गाँजा फेला परेको हो ।
प्रहरीले कन्टेनरका चालक सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ८ का ४१ वर्षीय बिरबहादुर तामाङलाई लिएको छ ।
लागुऔषधसहित कन्टेनर गाडी पनि बरामद गरी चालकलाई नियन्त्रणमा लिइ मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको छ । प्रहरीका अनुसार दुबै घटनामा संलग्न व्यक्तिहरूमाथि मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती लिइ थप अनुसन्धान भइरहेको छ।












प्रतिक्रिया दिनुहोस्