हेटौँडा । जेनजी समूहको आन्दोलनका क्रममा क्षति पुगेको हेटौँडा उपमहानगरपालिकासहित वडा कार्यालयहरू सेवा प्रवाहमा जुटेको छ । हेटौँडा उपमहानगरपालिका–४ नं. वडा कार्यालय क्षतिग्रस्त भएपछि बुधबारबाट पुनः सञ्चालन गर्दै सेवामा जुटेको हो । वडा कार्यालयले आन्दोलनको क्रममा भएको क्षतिको विवरण सार्वजनिक र चार्ड पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
आन्दोलनको क्रममा आगजनीबाट वडा कार्यालयको कम्प्युटर पाँच थान, स्क्यान र प्रिन्टर ७ थान, ल्याप्टप २ थान, मोटरसाइकल १ थान र दराज, टेबल, कुर्सी, फ्रिज, सोफा, बायोमेट्रिक्स मेसिन जलेर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए। प्रशासन, लेखा, योजना लगायतका फाइलसहितको कागजात सबै जलेर पूर्ण रूपमा नष्ट भएको उनले बताए ।
“देशैभरि भएको क्षति दुःखद हो, वडा कार्यालय, स्वास्थ्य कार्यालयमा क्षति पुग्दा सेवा प्रवाह प्रभावित भएको छ, शून्य अवस्थामा वडा कार्यालय छ, छोटो समयमा न्यूनतम आवश्यक स्रोत साधन जुटाएर वडाको सेवा वडावासीसम्म प्रवाह गर्दै छौँ,’’ वडाध्यक्ष सिग्देलले भने । जस्तो सुकै सङ्कटमा पनि एक ढिक्का भएर अगाडि बढ्न कार्यालयको व्यवस्थापन गरेर सेवा प्रवाह सुरु गरिएको उनले बताए। कार्यक्रममा वडाध्यक्षसहित स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतकाले सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्