हेटाैँडा । आन्दोलनका कारण सेवा प्रवाह प्रभावित बनेका हेटौँडा उपमहानगरपालिकाका चार वटा वडा कार्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाले कम्प्युटर हस्तान्तरण गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाको वडा नं. ३, ४, ११ र १९ मा सेवा सहज र सुचारु पार्ने उद्देश्यले प्रत्येक वडा कार्यालयलाई कम्प्युटर प्रदान गरिएको हो । आन्दोलनबाट कार्यालयको सेवा सञ्चालनमा अवरोध सिर्जना भएको अवस्थामा गरिएको यो सहयोगलाई महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले वडाध्यक्षलाई कम्प्युटर हस्तान्तरण गरेका थिए ।

वडा नं. ३ का अध्यक्ष ढलक बहादुर थापा, वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, वडा नं. ११ वडाध्यक्ष जुना दाहाल र वडा नं. १९ का वडाध्यक्ष नरनाथ सुवेदीले आन्दोलनले दैनिक प्रशासनिक काममा अवरोध पुर्‍याएको अवस्थामा प्राप्त भएको सहयोगले आम नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गरे । असहज परिस्थितिमा हातेमालो गर्दै अघि बढ्न प्राप्त भएको सहयोगको उनीहरूले प्रशंसा गरे ।