हेटाैँडा । नेपाल आयल निगम थानकोट डिपोका नाममा आएको पेट्रोलियम पदार्थ चोरी गरी बिक्री गर्दै गरेको अवस्थामा मकवानपुर प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ करिब ४ः३० बजे नेपाल आयल निगम अमलेखगन्ज डिपोबाट थानकोट डिपोका लागि गुडेको ना४ख ९३७७ नम्बरको ट्यांकर मकवानपुरको मनहरी गाउँपालिका-८ स्थित जय शिव शरणम् फ्युल सेन्टर प्रालिमा अवैध रूपमा पेट्रोल झिक्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

घटनास्थलमा प्रहरी पुग्दा ट्यांकरबाट पेट्रोल झिक्ने कार्य भइरहेको देखेपछि ट्यांकरका चालकसहित पेट्रोल पम्पमा काम गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी पुष्कर बोगटीले जानकारी दिए। पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिहरुको नाम सार्वजनिक गर्न नमिलने प्रवक्ता बोगटीले बताए।

उनका अनुसार उक्त ट्यांकर नेपाल आयल निगमको थानकोट डिपोका लागि पेट्रोल लिएर हिँडेको थियो। तर, बिचमै रोकी अनधिकृत रूपमा पेट्रोल बिक्री गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनासम्बन्धी थप विवरण संकलन भइरहेको र पेट्रोलियम पदार्थको अनधिकृत कारोबारमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने जनाएको छ ।