हेटौँडा । भद्रपुर साइकल समाजद्वारा मेचिनगर नगरपालिका, झापाबाट सुरु गरिएको मेचि–महाकाली साइकल यात्रामा सहभागी टोलीलाई हेटौँडामा स्वागत तथा शुभकामना कार्यक्रम गरिएको छ । बुधवार हेटौँडाको बुद्धचोकमा साइकल सिटी हेटौँडाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

भद्रपुर साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठको नेतृत्वमा २०८२ कात्तिक २३ गते झापाबाट सुरु भएको यात्राको चौथो दिनमा टोली हेटौँडा पुगेको हो । कार्यक्रममा श्रेष्ठले नेपालमा साइकल यात्रुहरूको संख्या बढ्दो क्रममा रहेको बताउँदै साइकलमैत्री कानुन, बाटो र सामाजिक दृष्टिकोण परिवर्तनका लागि मेचि–महाकाली यात्रा गरिएको जानकारी दिए।

साइकल सिटी हेटौँडाका अध्यक्ष लेखनाथ ढकालले हेटौँडालाई साइकलमैत्री शहर बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै यात्राले साइकल संस्कृतिको प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। संस्थापक अध्यक्ष दीपक खड्काले प्रतिकूल मौसममा पनि युवा जोश र उत्साहका साथ साइकल यात्रा प्रारम्भ गरेकोमा सफलताको शुभेच्छा व्यक्त गरे।

कार्यक्रममा साइकल सिटी हेटौँडाका अध्यक्ष लेखनाथ ढकाल, संस्थापक अध्यक्ष दीपक खड्का, महासचिव रामप्रसाद फुयाल, कोषाध्यक्ष मंगल लामा लगायतको उपस्थितिमा यात्रामा सहभागी जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, विश्वचन्द्र महतो र समीर पोखरेललाई साइकल सिटी हेटौँडाको तर्फबाट सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।