हेटौँडा । आफुलाई सूर्य नेपाल प्रालिका कर्मचारी भन्दै व्यापारीहरूलाई ठगी गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । उनीहरूलाई हेटौँडाका विभिन्न व्यवसायीहरूलाई सामान खरिद गर्ने बहानामा ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये पर्सा जिल्ला, वीरगंज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, सोही महानगरपालिका–१९ का ४० वर्षीय रामराउत कुर्मी र वीरगंज–३२ टेटा घर भई हाल मकवानपुर हेटौँडा उपमहानगरपालिका–१०, टिसनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेश कुमार केशरी रहेका छन् ।
उनीहरूले आफूहरू सूर्य नेपाल प्रालिका कर्मचारी भएको झुटो दाबी गर्दै हेटौँडास्थित विभिन्न व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गरी नक्कली बैंक भौचर ह्वाट्सएपमार्फत पठाएका थिए । सोही बहानामा व्यापारीहरूलाई कुल रु. १७ लाख ८७ हजार बराबरको सामान वीरगंजतर्फ डेलिभरी गराई ठगी गरेको प्रहरीले जनाएको छ ।
तीनै जनालाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्