हेटाैँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ कर्मचोकदेखि वडा कार्यालयसम्मको सडक गाउँपालिकाका अध्यक्षले व्यक्तिगत लगानीमै सडक स्तरोन्नति गरिदिने भएका छन् ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले व्यक्तिगत खर्चमा ६ मिटर चौडा र करिब २०० मिटर लम्बाइको सडकमा स्ल्याब ढलान गरिदिने भएका हुन् । शनिबार प्राविधिक टोलीमार्फत सडकको जाँचसहित लागत स्टिमेट तयार पारिएको छ ।

स्टिमेट अनुसार स्ल्याब ढलानका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अध्यक्ष कालाखेतीले बताए । औपचारिक कार्यक्रममार्फत जानकारी दिंदै अध्यक्ष कालाखेतीले केही दिनभित्रै उक्त सडक स्तरोन्नतिको काम सुरु हुने बताए ।

जेनजी आन्दोलनपछि गाउँपालिकामा देखिएको भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजनाहरू प्रभावित भएपछि स्थानीयको आवश्यकता र मागलाई बुझेर व्यक्तिगत लगानीमै सडक बनाउने निर्णय गरिएको अध्यक्ष कालाखेतीले स्पष्ट पारे । ‘धुलो र प्रदूषणका कारण टोलवासीलाई धेरै समस्या थियो । तत्काल समाधान आवश्यक भएकाले आफ्नै लगानीमा काम सुरु गर्न लागेका हौँ,’ अध्यक्ष कालाखेतीले भने । उनले जनप्रतिनिधि बनेदेखि सरकारी सवारी सेवा सुविधा नलिएको र प्राप्त तलबभत्ता समेत जनतामै खर्च गर्दै आएको बताए ।

कालाखेतीले आफ्नो तलबभत्ताबाट मनहरी-५ मा एक विपन्न परिवारको घर निर्माण गरिदिएका छन् । मनहरी–६ मा अर्को घर निर्माण कार्य भइरहेको छ । यस्तै, विपन्न बालबालिकाका लागि छात्रवृत्ति तथा पोसाकमा समेत उनले निजी रकम खर्च गर्दै आएका छन् ।

कार्यक्रममा मनहरी-२ का वडाध्यक्ष राजकुमार पाख्रिनले अध्यक्ष कालाखेतीको निजी लगानीमा सडक स्तरोन्नति हुन लागेकाेप्रति कृतज्ञता व्यक्त गरे । पाख्रिनले आगामी दिनमा पनि जनताको समस्यामा निरन्तर साथ दिन आग्रह गरे । यस्तै, भुन्द्रुङ टाँडी टोल विकास समिति सदस्य शान्तिमाया थिङले टोलका बासिन्दाको तर्फबाट अध्यक्ष कालाखेतीलाई आभार व्यक्त गर्दै व्यक्तिगत लगानीमै सडक स्तरीकरण हुन लाग्नु टोलवासीका लागि ठूलो राहत हुने बताइन् ।