हेटाैँडा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीअन्तर्गत हेटौँडा– ६ स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार सञ्चालन गरिएको परीक्षा पुरानो प्रश्नपत्र वितरण भएपछि रद्द गरिएको छ । केन्द्राध्यक्ष र बाह्य सहायकको लापरबाहीका कारण पुरानो प्रश्नपत्र परीक्षार्थीलाई वितरण गरिएको भन्दै सो दिनका सबै परीक्षा रद्द गरिएको हो ।

विद्यार्थीले तोकिएको समय पूरा गरी परीक्षा केन्द्रबाट बाहिर निस्किसकेपछि मात्र परीक्षा रद्द गरिएको जानकारी पाएपछि उनीहरू आक्रोशित बनेका थिए । ‘परीक्षा सकेर बाहिर निस्किसकेपछि मात्र रद्द गरिएको जानकारी पायौँ,’ परीक्षार्थीहरूले भने, एउटै परीक्षा कतिपटक दिने ?’ उनीहरूले आफूहरूले दिएको परीक्षालाई मान्यता दिनुपर्ने माग राख्दै परीक्षा केन्द्रपरिसरमै नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरूले परीक्षा सूचनासमेत ढिलो दिइएको र व्यवस्थापन सम्पूर्ण रूपमा कमजोर रहेको आरोप लगाएका छन् ।
घटनाबारे केन्द्राध्यक्ष भुवनेश्वर रञ्जितकार र बाह्य सुपरिवेक्षक शंकर खतिवडामाथि छानबिन भइरहेको सिटिइभिटी हेटौँडा प्रदेश कार्यालयका प्रमुख हर्कलाल श्रेष्ठले जानकारी दिए । यस विषयमा दिउँसो ३ बजे जिल्ला परीक्षा समन्वय समितिको बैठक बस्ने उनको भनाइ छ ।

पुरानो प्रश्नपत्र वितरण भएपछि फिजियोथेरापीअन्तर्गत बिएबिएल साइन्स, एचएको इनभाइरमेन्टल हेल्थ, प्लान्ट साइन्सको इन्ट्रोडक्टरी एनिमल हज्बेन्ड्री, प्रि–डिप्लोमा जेटिए एपिसरी कल्चर तथा भेटनरी गरी विभिन्न विषयका परीक्षा रद्द गरिएका छन् । यी विषयहरूमा ७९ जना परीक्षार्थी सहभागी थिए ।

यसअघि जेन–जी आन्दोलनका कारण उत्तरपुस्तिका जलेपछि सिटिइभिटीले आइतबारबाट पुनः परीक्षा सञ्चालन गर्न लागेको हो ।

नयाँ पत्रिकाबाट