हेटाैँडा । मकवानपुरको मनहरी गाउँपालिकाले उद्योग दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातमा मंगलबार सचेतना र्यालीका साथै उद्यमी समूहलाई पुरस्कृत गरिएको छ । गाउँपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवात र उद्योग दिवस एकसाथ मनाएको हो ।
अभियानको सुरुवातको क्रममा मनहरी गाउँपालिका १ स्थित रजैयाबाट रचेतना र्याली निकालिएको थियो । र्याली गाउँपालिकाको सभाहल लामिटारमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमकैबीच मनहरी गाउँपालिका क्षेत्रभित्र रहेका महिला उद्यमी समूहमध्ये उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो । उद्यमी समूहमध्ये प्रथम हुने मनहरी ७ मा रहेको क्रियाशील महिला लघु उद्यमी समूहलाई नगद १५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै ६ नम्बर वडामा रहेको पारिजात महिला उद्यमी समूह दोस्रो भई १२ हजार रुपैयाँ प्राप्त गरेको छ भने मनहरी ५ मा रहेको हरियाली महिला लघु उद्यमी समूह तेस्रो भई ९ हजार प्राप्त गरेको थियो ।
मनहरी १ मा रहेको चकरी महिला लघुउद्यमी समूह चौथो घोषणा गरी ६ हजार रुपैयाँ प्रोत्साहन प्रदान गरिएको थियो । मनहरी ३ को प्रगतिशील लघुु उद्यमी समूह र ४ नम्बरमा रहेको अर्को प्रगतिशील लघुउद्यमी समूहलाई सान्त्वना घोषणा गरी नगद ४-४ हजार प्रोत्साहन र सम्मानपत्र प्रदान गरिएको थियो ।
गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाकी प्रशासन प्रमुख अन्जना सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबा, बाल अधिकार समिति सदस्य देवकी ढुङ्गानालगायतले मन्तव्य व्यक्त गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्