हेटौँडा । बार अनुसार हप्ताको छ दिनका लागि विद्यालयमा खुवाइने खाजाको तालिका तयार गरिएको छ । हेटौँडा उपमहानगरपालिका–४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले यहाँ अध्ययन गर्ने विद्यार्थीलाई खुवाइने खाजाको तालिका तयार गरेर सोही अनुसार सरकारले प्रदान गर्ने दिवा खाजा खुवाउँदै आएको हो ।

सरकारले ईसीडीदेखि ५ कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेसँगै विद्यार्थीले विद्यालयमै खाजा खान पाउन थालेका हुन् । ‘बार अनुसार आइतबार जाउलो (खिचडी), सोमवार चिउरा तरकारी, मङ्गलवार हलुवा, बुधवार खीर, बिहीबार मिक्स भुटेको चिउरा र शुक्रवार जेरी पुरी जस्ता खानेकुराको तालिका बनाएर हप्ताको ६ दिन खुवाउने गरेका छौँ,’ विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँले भने । दिवा खाजा कार्यक्रमले खाजामा एकरूपता ल्याएको र अभिभावकलाई पनि सहज भएको उनले बताए ।

ईसीडीदेखि ५ कक्षासम्मका एक हजार ८० जना बालबालिकाका लागि दैनिक दिवा खाजा तयार हुँदै आएको छ । सरकारले उपलब्ध गराउने २० रुपियाँ बराबरको दिवा खाजाका कारण विद्यालय नियमित आउने विद्यार्थीको सङ्ख्या उल्लेख्य रहेको छ । “निम्न र मध्यम वर्गका अभिभावकका बालबालिका अध्ययनरत रहेको यस विद्यालयमा दिवा खाजाले उपस्थिति र बिचैमा विद्यालय छाड्ने दर कम छ, दिवा खाजा प्रभावकारी बनेको छ,”–विद्यालयका प्रअ गुरागाईँले भने ।

एक कार्यक्रमका बिच विद्यालयमा निर्माण गरिएको सुबिधासम्पन्न चमेना गृह समेत उद्घाटन गरिएको छ । हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले चमेना गृहको उद्घाटन गर्दै सामुदायिक विद्यालयको शैक्षिक विकास र हेटौँडालाई शैक्षिक हवका रूपमा अगाडि बढाउने कार्यमा सदैव सहयोग गर्न तयार रहेको बताइन् । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नं. वडाध्यक्ष नवीन सिग्देलले बागमती प्रदेशको राजधानी हेटौँडा, हेटौँडाको राजधानी ४ नं. वडा र समग्र हेटौँडाको शैक्षिक केन्द्र आधुनिक मावि भएको बताए ।

दुई दशकदेखि जिल्ला प्रथम हुँदै आएको आधुनिक माविमा विद्यार्थीको चाप बढेसँगै खाजा खुवाउनका लागि सुविधा सम्पन्न चमेना गृह निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिम खानले बताए । हेटौँडा उपमहानगरपालिकाको ३० लाख, वडा कार्यालयको १० लाख र विद्यालयको आन्तरिक स्रोतबाट ८ लाख रुपियाँको लागतमा चमेना गृह तयार भएको उनले जानकारी दिए । निर्माण कमिटी संयोजक ज्ञानेन्द्र मानन्धरको संयोजकत्वमा दुई वर्ष लगाएर बास्तोला एन्ड हाउजिङ कम्पनीले चमेना गृहको निर्माण गरेको थियो । संभवत जिल्लाको निजी तथा सामुदायिक विद्यालयमा एक पटकमा तीन सय बढी विद्यार्थीले एकै पटक खाजा खान मिल्ने गरी निर्माण गरिएको चमेना गृह यो पहिलो भएको विद्यालयको दाबी छ ।

यहाँ छिमेकी प्रदेश मधेस प्रदेशका अधिकांश अभिभावकका बालबालिका अध्ययनरत रहनुभएको छ । नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अध्यापन हुने यस विद्यालयप्रति समुदायको विश्वास अधिक छ । तराइका अधिकांश शिक्षक शिक्षिका र दैनिक ज्यालादारी गर्ने अभिभावकको बालबालिका यस विद्यालयमा अध्ययनरत रहनुभएको छ । ईसीडीदेखि १० कक्षासम्म दुई हजार ८२५ र दश जोड दुई मा २९५ सहित तीन हजार १२० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

शैक्षिक हवको रूपमा विकसित हुँदै गएको हेटौँडाको आधुनिक माविमा मधेस प्रदेशका करिब ६० प्रतिशत बालबालिका अध्ययनरत रहेका छन । प्राविधिक धारमा विज्ञान विषयमा समेत अध्यापन हुने यस विद्यालयमा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा सहित २३ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको विद्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।