हेटाैँडा । पूर्वीमकवानपुरको बकैया गाउँपालिका– ५ र ६ जोड्ने कर्मचुली जुइना सुकौरा खोलामा निर्माण हुने मल्टिसेल बक्स पुलको बुधबार शिलान्यास गरिएको छ।बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँ लागतमा निर्माण हुने पुलको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिलान्यास गरेका हुन् ।
१२० मिटर लामो पक्की पुलका लागि कुल आठ करोड २४ लाख ६८ हजार ९८५ रुपैयाँ लागत अनुमान गरिएको थियो । तर, श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले ६ करोड ८९ लाख ४९ हजार ७५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । २०८२ असार ८ गते सम्झौता भएको आयोजना ०८४ असार ७ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेले जानकारी दिए ।
पुल निर्माण भएपछि बकैयाको वडा नम्बर ५ र ६ का करिब आठ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अध्यक्ष लामिछानेले बताए । पुल नहुँदा वर्षायाममा बकैया– ६ का विद्यार्थीलाई विद्यालय आवत–जावतमा कठिनाइ हुँदै आएको थियो । निर्माण सम्पन्न भएपछि किसान, विद्यार्थी, स्थानीयवासी तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय पर्यटन पार्कसम्म पहुँच सहज हुने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री बानियाँले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै संघीयताले विकासलाई गति दिएको दाबी गरे । उनले जेन–जी पुस्ताको आन्दोलनले देशमा जनधनको क्षति पुगेको उल्लेख गर्दै युवाको माग सम्बोधन गर्दै भ्रष्टाचारमुक्त, सुशासनयुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा सहभागी बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट विनियोजन भई पुल निर्माण कार्य अघि बढेको जानकारी दिए । उनले आर्थिक–सामाजिक रूपान्तरणका लागि उत्पादनसँग जोडिन प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पूर्वअध्यक्ष दामोदर खनाल, पूर्वउपाध्यक्ष सरला बोलखेसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्