हेटाैँडा । मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधासम्पन्न प्रशासनिक भवन बुधबार एक समारोहबिच उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गाउँपालिकाको ३ नम्बर वडास्थित हात्तीसुँडेमा नवनिर्मित चारतले भवनको उद्घाटन गरेका हुन्।
भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले लोकतान्त्रिक व्यवस्थाले नागरिकलाई प्रतिनिधि छनोट मात्र नभई, आवश्यक परे पार्टी वा उम्मेदवार परिवर्तन गर्ने स्वतन्त्रतासमेत दिएको बताए। संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, वर्ग र समुदायलाई न्याय दिलाउने संरचना निर्माण गरिरहेको उल्लेख गर्दै उनले गाउँगाउँमा विकास पुगेको दाबी गरे। विकास र सेवा विस्तार भएको मन नपराउने केही समूह अझै व्यवस्थाविरोधी गतिविधिमा रहेको भन्दै उनीहरूबाट जोगिनुपर्ने बानियाँको भनाइ थियो।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि, शिक्षालगायतका क्षेत्रमा गरिएको लगानीका कारण बकैया अब अन्य स्थानीय तहभन्दा कमजोर नभएको दाबी गरे। आयआर्जनका अवसर बढाएपछि धेरैले रक्सी पसल बन्द गरी कृषिमा रुचि बढाएको उल्लेख गर्दै उनले भने, ‘पहिले विदेश जाँदै गरेका युवाहरू अहिले गाउँमै गाईपालनबाट राम्रो आम्दानी गर्दै छन्।’
गाउँपालिकाको प्रशासनिक भवन संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माण भएको हो। अध्यक्ष तथा उपाध्यक्षको कार्यकक्षसहित २८ कोठा, दुई सभाहल, सेवाग्राही कक्ष, पार्किङ, भान्सा, स्टोर र शौचालयसमेत रहेको यो भवनले कार्यालय सञ्चालन र सेवा प्रवाह थप व्यवस्थित बनाउने विश्वास गरिएको छ। भवनसँगै प्रमुख प्रशासकीय अधिकृतका लागि आवासीय सुविधा पनि व्यवस्था गरिएको छ।
०७९ जेठ ३१ गते सम्झौता भएका भवन निर्माण ०८१ असार १५ भित्र सक्नुपर्ने थियो। समयमै काम सम्पन्न नहुँदा म्याद थपिएको र अन्ततः गत भदौ ३१ गते भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। प्रारम्भिक सम्झौता मूल्य अभिवृद्धिकरसहित सात करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ रहेकामा काम थपिएपछि अन्तिम भुक्तानी रकम सात करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको छ।












प्रतिक्रिया दिनुहोस्