हेटाैँडा । हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रभित्रको राजमार्ग विस्तार अभियानबाट प्रभावित भएका घरधनी तथा व्यवसायीका लागि विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको छ ।
आइतबार बसेको नगर कार्यपालिकाको ७६औँ बैठकले सडक विस्तारपछि उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्न नाैबुँदे निर्णय गर्दै प्रभावित जनताको पुनर्स्थापनामा सहजीकरण गर्ने तयारी गरेको हो ।
बैठकले सडक विस्तारका क्रममा घर भत्किएका घरधनीलाई पुन: आवास निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै, व्यवसाय बन्द भई विस्थापित हुनुपरेका व्यवसायीहरूको लगत संकलन गरी व्यवसाय पुन: सञ्चालन नहुँदासम्मको अवधिका लागि व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेस गर्ने उपमहानगरपालिकाले जनाएको छ।
नयाँ घर बनाउन बाध्य भएका प्रभावितलाई दुई हजार वर्गफिटसम्म नक्सापास दस्तुर छुट दिने प्रस्ताव पनि नगर सभासमक्ष लैजाने निर्णय भएको छ। साथै, सडक विस्तारका कारण जग्गाको अंश पूर्ण रूपमा समाप्त भई अन्यत्र घरजग्गा नहुने वास्तविक पीडितहरूको विवरण वडा कार्यालयमार्फत संकलन गरी आवास व्यवस्थापनमा सहजीकरण गर्ने तयारी उपमहानगरपालिकाले गरेको छ ।
भवन निर्माण प्रक्रियालाई छरितो र सहज बनाउन ‘फास्ट ट्रयाक’ विधिबाट नक्सापास तथा प्राविधिक सेवा उपलब्ध गराउने, घर निर्माण सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन सम्बन्धित आपूर्तिकर्ता निकायसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ।
यस्तै, हेटौँडा हुँदै जाने त्रिभुवन राजपथलाई ‘पर्यटकीय राजमार्ग’ का रूपमा विकास गर्न संघीय सरकारलाई अनुरोध गर्ने, सडक विस्तार भएको क्षेत्रमा सहरको पहिचान झल्किने एकरूपता अभिव्यक्त हुने भवन मोडेलको रूपरेखा तयार गरी कार्यान्वयनमा ल्याउने तथा मकवानपुर उद्योग वाणिज्य संघसहितका सरोकारवालासँग निरन्तर छलफल गरी बजार सेवामा अवरोध नआउने व्यवस्था मिलाउने निर्णय पनि कार्यपालिकाले गरेको छ ।












प्रतिक्रिया दिनुहोस्