हेटाैँडा । मकवानपुरको कैलाश गाउँपालिकामा बुधबार पहिलोपटक पालिकास्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम गरिएको छ । प्रदर्शनीमा कैलाश–२ मा रहेको सरस्वती आधारभूत विद्यालय प्रथम भएको छ ।
कैलाश–९ मा रहेको कालिका मावि दोस्रो र कैलाश–२ को कमलादेवी मावि तेस्रो भएको छ । पुरस्कृत विद्यालयले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रदर्शनी कैलाश गाउँपालिका–३ स्थित भवानी माध्यमिक विद्यालयमा आयोजना गरिएको हो। प्रदर्शनीमा पालिकाका आठ विद्यालयका विद्यार्थीको सहभागिता थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले प्रदर्शनीले विद्यार्थीमा नयाँ सिकाइ र ज्ञान बढ्ने विश्वास व्यक्त गरे। विद्यार्थीले तयार पारेका सामग्रीहरूमा परम्परागत ज्ञान र सिपसँगै विज्ञान र प्रविधिको नयाँ प्रयोगबाट तयार पारेका विभिन्न सामग्रीले आपसमा सिकाइ र अनुभव साटासाट हुने बताए।
गाउँपालिकाले विद्यार्थीको सिप र क्षमता विकासको लागि नीति तथा कार्यक्रममै समेटेर कार्यक्रम राखिएकाले आगामी दिनमा पनि थप ऊर्जाका साथ कार्यक्रम गरिने उनले प्रतिबद्धता जनाए।
प्रदर्शनी आधारभूत तह (कक्षा १ देखि ८) र माध्यमिक तह सञ्चालित विद्यालयका विद्यार्थीको अन्तर्निहित क्षमता तथा प्रतिभा पहिचान तथा सिकाइ आदानप्रदान गर्ने उद्देश्यले गरिएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख समीर जोशीले बताए।












प्रतिक्रिया दिनुहोस्