हेटाैँडा । बागमती प्रदेश विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना सुदृढ गर्दै प्रदेशभित्रका पाँच सामुदायिक क्याम्पससँग समायोजन सम्झौता गरेको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा विश्वविद्यालय र सम्बन्धित क्याम्पसका प्रमुखबिच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
प्रदेशको उच्च शिक्षालाई गुणस्तरीय, व्यवस्थित र सबैका लागि पहुँचयोग्य बनाउन विश्वविद्यालयले विभिन्न जिल्लामा रहेका प्रतिष्ठित क्याम्पसलाई आंगिक कलेजका रूपमा अगाडि बढाउने निर्णयअनुसार सम्झौता भएको प्रदेश विश्वविद्यालयले जनाएको छ।
विश्वविद्यालयले भुवानीशंकर बहुमुखी कलेज, जनमैत्री बहुमुखी कलेज, कपन बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस र माडी क्याम्पससँग समायोजन सम्झौता गरेको हो।
सम्झौतासँगै उक्त क्याम्पसहरूमा बागमती प्रदेश विश्वविद्यालयको नीति, नियम र पाठ्यक्रमअनुसार शैक्षिक कार्यक्रम सञ्चालनमा आउनेछन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले परम्परागत शिक्षा प्रणालीले बेरोजगार मात्र उत्पादन गर्दै आएको बताउँदै अबको शिक्षालाई प्रविधि, सिप र तालिमसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।
उनले ‘गरी खाने’ शिक्षा नीति लागू गर्ने प्रदेश सरकारको तयारी जानकारी गराउँदै अभिभावकविहीनजस्ता देखिएका शैक्षिक संस्थालाई अब प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका क्याम्पसहरू बागमती विश्वविद्यालयमा समायोजनका क्रममा देखिएको संशय हटाउन उनले आत्मीयता र सहकार्यका लागि आग्रह गरे। प्रदेश सरकार स्वास्थ्य, शिक्षा र कृषिलाई प्रविधिसँग जोडेर समग्र विकासमा अघि बढ्ने उनको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले विद्यार्थीहरूले पढ्दै, सिक्दै र कमाउँदै गर्ने वातावरण सिर्जना गर्न पाठ्यक्रममै परिवर्तन आवश्यक रहेको बताए। बागमती प्रदेशले शिक्षानीतिमा रोजगार सिर्जना गर्ने र डिजिटलाइज्ड प्रणालीलाई प्राथमिकता दिने उनको भनाइ थियो। संघीय सरकारले नीति, प्रदेशले विकास र स्थानीय तहले सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
बागमती विश्वविद्यालयले हाल पाँचवटा कलेजलाई आंगिक कलेजका रूपमा अगाडि बढाएको र हेटौँडाको हकमा प्रक्रिया चलिरहेको मुख्यमन्त्री बानियाँले जानकारी दिए। उनले विश्वविद्यालय नेतृत्वलाई अनुभवी र प्राविधिक पक्षलाई समेटेर अघि बढ्न निर्देशनसमेत दिए।
नयाँ पत्रिकाबाट












प्रतिक्रिया दिनुहोस्