हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा बकैया गाउँपालिका वडा नम्बर ७ अधेरीका ५५ वर्षीय केशव माझी, ५५ वर्षीय युवराज माझी र ४५ वर्षीय सन्तलाल माझी रहेका छन्।

घाइते अवस्थामै हेटौँडा अस्पताल ल्याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार बकैया गाउँपालिका–७, अँधेरीस्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो ट्र्याक्टर दुर्घटना भएको थियो। लु ५ त १७४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुर्घटनामा परी २२ जना घाइते भएका थिए।

दुर्घटनामा घाइते भएका अन्य १९ जनाको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।