हेटौँडा । हेटौँडा–६ चौघडा न्यूरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारीहरूले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
निर्वाचन समितिका संयोजक मुकुन्दप्रसाद अधिकारीले पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । संस्थाको मंसिर २७ गते सम्पन्न २९औँ वार्षिक साधारणसभा तथा अधिवेशनले हिमाल पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति तथा प्रकाश ढुङ्गानाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको थियो ।
निर्वाचन समितिका संयोजक मुकुन्दप्रसाद अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, चौघडा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, सल्लाहकार गणेशकुमार श्रेष्ठ, प्रल्हाद शर्मा आचार्य, निर्वाचन समिति सदस्य बद्रीप्रसाद भण्डारी र रुपेश दुलाल, सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी, सञ्चारकर्मी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
संस्थामा हाल २ हजार ४९८ जना शेयर सदस्य आबद्ध रहेका छन् । संस्थाका अनुसार आर्थिक वर्ष ०८१-०८२ सम्म शेयर पूँजी २ करोड ७१ लाख ३२ हजार रुपैयाँ रहेको छ भने २७ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन तथा २० करोड ९७ लाख रुपैयाँ लगानी रहेको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्