हेटौँडा । मकवानपुरको धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित कुष्माण्ड सरोवर त्रिवेणी धाममा यो वर्ष पितृउद्धारका उद्देश्यसहित एक महिने गरुड महापुराण वाचन हुने भएको छ । धार्मिक आस्था, संस्कार र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष माघ महिनामा फरक–फरक पुराण वाचन सञ्चालन हुँदै आएको छ ।

कुष्माण्ड सरोवर त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेका अनुसार यस वर्ष पितृमोक्ष, आत्मशान्ति तथा धार्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित गरुड महापुराण वाचन आयोजना गरिएको हो ।

गरुड महापुराण वाचन पण्डित गोपाल चालिसे, जीवराज बख्रेल र यदु अधिकारीबाट सञ्चालन हुने जनाइएको छ । गरुड महापुराणमा वर्णित पितृलोक, कर्मफल, मृत्यु उपरान्तको यात्रा तथा आत्ममोक्षसम्बन्धी आध्यात्मिक ज्ञानले श्रद्धालुहरूमा धार्मिक चेतना बढाउने र पितृप्रतिको कर्तव्यबोध गराउने विश्वास गरिन्छ ।

कार्यक्रम अवधिभर दैनिक पूजा–अर्चना, गरुड महापुराण पाठ, प्रवचन, भजन–कीर्तन, श्राद्ध, तर्पण तथा अन्य वैदिक अनुष्ठानहरू सञ्चालन गरिनेछ । पितृको आत्मशान्ति तथा मोक्ष प्राप्तिको कामनाका साथ श्रद्धालुहरूले पितृनाम संकल्प गराउन सकिने व्यवस्था पनि मिलाइएको छ ।

आयोजकका अनुसार मकवानपुरसँगै आसपासका जिल्लाबाट पनि भक्तजनहरूको व्यापक सहभागिता रहने अनुमान गरिएको छ। कुष्माण्ड सरोवर त्रिवेणी धाम पितृकार्य, श्राद्ध तथा वैदिक अनुष्ठानका लागि प्रमुख स्थलका रूपमा परिचित रहँदै आएको छ ।

धार्मिक कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सुरक्षा, सरसफाइ, यातायात तथा अन्य आवश्यक व्यवस्थापनमा विशेष ध्यान दिइएको समितिका अध्यक्ष न्यौपानेले जानकारी दिए । पितृउद्धारको भावनासँग जोडिएको एक महिनाको यस गरुड महापुराण वाचनले त्रिवेणी धामको धार्मिक महत्त्वलाई अझ बढी उजागर गर्ने अपेक्षा गरिएको छ ।