हेटाैँडा । मकवानपुरको मनहरी गाउँपालिकाको १८ औँ हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको अध्यक्षतामा भएको गाउँसभाले चालु आव २०८२-०८३ को बजेटमा उल्लेखित केही आयोजना तथा कार्यक्रमहरु संशोधन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले गाउँसभामा विभिन्न ३७ वटा योजनाहरु संशोधनको लागि पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मत स्विकृत भएको हो । गाउँसभामा उपाध्यक्ष पुलामीले पेश गरेको आर्थिक ऐन २०८२ को पहिलो संशोधन प्रस्ताव पनि स्विकृत भएको छ । यस्तै गाउँसभामा सुशासन तथा संस्थागत विकास समिति संयोजक ठाकुर तितुङले पेश गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि स्विकृत भएको छ ।

गाउँसभाको शुन्य समयमा सभा सदस्य हिराबहादुर प्रजा, नवराज सुवेदी, रामप्रसाद सुवेदीलगायतले समसामयिक विषय तथा समस्याको बारेमा आफ्ना धारणा राखेका थिए ।

गाउँसभामा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले समसामयिक विषयमा आफ्ना धारणाहरुसहित १८ औँ अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए ।