हेटाैँडा । मनहरी गाउँपालिकाको प्रतीक चिन्ह सार्वजनिक गरिएकाे छ । बुधबार गाउँपालिकाकाे १८ ओैँ अधिवेशनकाबीच चिन्ह सार्वजनिक गरिएको हाे ।

गाउँपालिकाको नारा ‘शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारः समृद्ध मनहरीको आधार’ लेखिएको प्रतीक चिन्हमा  वन्यजन्तु, मानिसहरूको विविधतायुक्त चित्र, कृषक र अन्नबालीको चित्र, प्राकृतिक दृश्य, नेपालको झण्डा समेटिएको छ । रातो, नीलो र हरियो रङको प्रयोग गरी हेटौँडाकी संविधा पौडेलले प्रतिक चिन्ह निर्माण गरेकी हुन् ।

कार्यपालिका बैठकबाट यसअघि नै स्वीकृत भएको प्रतीक चिन्ह गाउँसभाका बीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर र प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सार्वजनिक गरेका हुन् । लोगोले मनहरी गाउँपालिकाको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, पर्यावरणीय र भौगोलिक पक्षहरूलाई एकै साथ उजागर गर्ने लोगो निर्माण समितिका संयोजक वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए ।

लोगोमा उल्लेखित बाघ, हात्ती, गैंडा जस्ता वन्यजन्तुहरूले मनहरी क्षेत्रको प्राकृतिक सम्पदा, जैविक विविधता, र चितवन राष्ट्रिय निकुञ्जसँगको सामीप्य झल्काउनुका साथै महिला र पुरुषको समूहले विभिन्न समुदायको प्रतिनिधित्व गरी समावेशी विकास र सामाजिक एकता देखाउने लोगो निर्माणकर्ताको भनाइ छ ।

महिला र बालबालिकाको चित्र महिला सशक्तीकरण, बाल अधिकार र लैंगिक समानता प्रतिक भएको उल्लेख छ । कृषक र अन्नबालीको चित्रले स्थानीय उत्पादन, कृषि आत्मनिर्भरता र जैविक खेतीको प्रतिनिधित्व गर्ने बताइएको छ ।