महोत्सव बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन ।

हेटौँडा । जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिदका लागि हेटौँडामा खेलकुद महोत्सव आयोजना गरिने भएको छ । महोत्सवबाट हुने आम्दानी मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामाग्री खरिदमा खर्च गरिने आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समितिले दोस्रो संस्करणको “बृहत् खेलकुद कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८२” आयोजना गर्न लागेको हो । हेटौँडा–१० स्थित टिसिएन चौरमा माघ २८ गतेदेखि फागुन १२ गतेसम्म महोत्सव सञ्चालन हुने बताइएको छ ।

पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च लाग्ने र करिब ४०० व्यावसायिक स्टल रहने जानकारी दिएको छ । महोत्सवमार्फत खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको छ ।

“घरेलु तथा कृषि उत्पादनको प्रदर्शन र खेलकुदलाई प्रोत्साहन मुख्य आकर्षण रहनेछ,” समिति अध्यक्ष राजकुमार मोक्तानले भने । महोत्सवमा राष्ट्रिय महिला भलिबल, जिल्ला स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन, कराँते प्रतियोगिता, २२ किलोमिटर दौड तथा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ । साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति हुने जनाइएको छ । यसैगरी १० जना उत्कृष्ट खेलाडीलाई जनही २५ हजार पुरस्कारसहित सम्मान गरिने समिति अध्यक्ष मोक्तानले बताए ।
गोरखापत्रबाट