हेटाैँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोला पुल नजिकै भीमफेदी-कुलेखानी-काठमाडौँ सडकखण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बोलेरोका सहचालक रोहन मण्डल रहेका छन् ।
मकवानपुर प्रहरीका अनुसार बिहीवार राति करिब १ बजे सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड गरेकाे बोलेरो पिकअप ब्रेक फेल भई अनियन्त्रित भएर सडकबाट करिब ५/७ मिटर तल खोल्सामा खसेको छ ।
दुर्घटनामा परेका तीन जनामध्ये सर्लाही वरथवा नगरपालिका वडा नम्बर-१ का १७ वर्षीय रोहन मण्डलकाे काठमाडौँ मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही ठाउँका १६ वर्षीय छोटे पासवान कम्मरमा चोट लागेर मध्यम अवस्थाका घाइते छन् । बोलेरो चालक सर्लाही वरथवा–१ का २५ वर्षीय रामवली साहलाई शरीरमा सामान्य चोट लागेको छ । दुवै घाइतेको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बोलेरोमा करिब ५०० वटा कुखुरा लोड गरिएको थियो । दुर्घटनाका कारण तीमध्ये करिब ३०० वटा कुखुरा मरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्